संखुवासभा सामूहिक हत्याकाण्डः लोकबहादुरले यसरी गरे ६ जनाको हत्या (बयानसहित)
काठमाडौं – गत २१ भदौको बिहानै संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका एकै परिवारको ६ जनाको वीभत्स हत्या भएको समाचार एकाएक बाहिरियो। अनुसन्धान अधिकृतहरु घटनास्थलमा पुगेपछि मात्र ६ जनाकै शव उठाइएको थियो।
८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या गरिएको थियो।
हत्या कसले र किन गर्यो? भनेर घटनास्थल पुगेलगत्तै अनुसन्धान अधिकारीले अनुसन्धान सुरु गर्न थाले। जतिबेला प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ।’ प्रहरीले आर्थिक पाटोबाट पहिलो चरणमा अनुसन्धान थाल्यो।
घटना लुटपाट वा लेनदेनको उद्देश्यबाट भएको हुनसक्ने भन्दै अनुसन्धान त्यहीतर्फ मोडिएको थियो। कार्की परिवारको घरबाट प्रहरीले नगद र सुनको गहना भेटेपछि आर्थिकको कारण हत्या नभएको निष्कर्ष निकालेसँगै दोस्रो चरण रिसिईबीको पाटोबाट अनुसन्धान थाल्यो।
प्रहरीले घटना रिसिईबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै त्यसैतर्फ अनुसन्धान केन्द्रित ग¥यो। र, अन्ततः २६ भदौ शनिवार बिहानै तेजबहादुरको छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीले अपराध कबुल गरेपछि प्रहरीले नियन्त्रणमा लिन सफल भयो।
आइतबार प्रहरीले संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुरलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। गत २१ भदौमा लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या गरेका थिए।
६ जनाको वीभत्स हत्या गर्ने आरोपी कार्कीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन्।
सामूहिक हत्या प्रकरणमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै हत्याराको खोजी गरेको थियो।
यसरी गरे ६ जनाको हत्या?
आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर तेजबहादुरसँग रुष्ट थिए। प्रहरी समक्ष बयानमा समेत लोकहादुरले सोही कुरा बताएका छन्। व्यक्तिगत रिसिईबीको कारण तेजबहादुरको हत्या गर्दा अन्य सदस्यहरुको समेत हत्या गर्न बाध्य भएको लोकबहादुरको भनाइ छ।
लोकबहादुर पहिला तेजबहादुर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तेजबहादुर घरबाट निस्किएको लोकबहादुरले आफ्नो शौचालयबाट देखेका थिए। जब बिहानै तेजबहादुर घरबाट निस्किए, अनि लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाए।
अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे। तेजबहादुरले ‘लोकेले मा–यो, गुहार …’ भनेर चिच्याएपछि उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ पुगेको अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले त्यसपछि कमलामाथि पनि त्यही चिर्पटले टाउकोमा प्रहार गरे।
कमला भुँइमा लडेलगत्तै तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन्। बेहोसी अवस्थामा पनि रञ्जनामाथि आक्रमण गरे।
तेजबहादुर, कमला र रञ्जनालाई आक्रमण गरेको दुई बालबालिकाले पनि देखे। त्यसपछि उनीहरूमाथि आक्रमण गर्न खोज्दा उनीहरु भागे।
उनीहरूलाई पनि लखेट्दै लखेट्दै टाउकोमै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले प्रहरीसमक्ष बयान दिएका छन्।
घरमा बुढी हजुरआमा (पार्वती कार्की) हुनुहुन्थ्यो। पाँछ जनालाई आक्रमण गर्दा गुहार माग्दा चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डर मनमा परेपछि लोकबहादुरले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी पार्वती कार्कीलाई पनि आक्रमण गरी हत्या गरे।
वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुबा बौद्धमानलाई भने उनले केही गरेनन्। चिर्पटले सबैको हत्या गरेको खुलेको छ। घटनामा एकपछि अर्कोले देखेर पोल खोल्दिने डरले सामूहिक हत्या भएको पाइएको छ।
हत्याको अघिल्लो रात पनि मनमा अनेकौँ कुराहरू खेलेका प्रहरी समक्ष लोकबहादुरले बयान दिएका छन्। हत्यामा प्रयोग भएको चिर्पट वारदातपछि उनले जलाएको बताएका छन्। उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ। लोकबहादुरले एक वर्ष अघिदेखि औषधि सेवन गर्दै आएका छन्।