संखुवासभा सामूहिक हत्या प्रकरणः लोकबहादुरका भाइ नरेशको पनि शंकास्पद भूमिका!


काठमाडौं – प्रहरीले संखुवासभा सामूहिक हत्या प्रकरणमा पक्राउ परेका २६ वर्षीय लोकबहादुरका भाइ नरेश कार्कीको भूमिका पनि शंकास्पद रहेको बताएको छ। त्यसैले नरेशमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।

गत २१ भदौको बिहान सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो। घटनाको ५ दिनपछि प्रहरीले लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेको थियो।

प्रहरीका अनुसार ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

‘सामूहिक हत्या प्रकरणमा कतै न कतैबाट लोकबहादुरका भाइ नरेश कार्कीको भूमिका शंकास्पद देखिएको छ,’ घटनामा संलग्न एक प्रहरी अधिकारीले भने। नरेशमाथि सोधपुछ भइरहेको ती अधिकारीले बताए।

यता, सङ्खुवासभाका प्रहरी नायब उपरक्षिक (डिएसपी) लालध्वज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताए। उनले भने, ‘अहिले पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डले घटनास्थलमा बसेर अनुसन्धान गरिरहेको छ।’

नरेशको भूमिका शंकास्पद देखिएको हुनाले सोधपुछ कार्य भइरहेको सुवेदीले बताए। यद्यपी हत्या गरिएकी ३२ वर्षीया रञ्जना कार्कीको हराएको मोबाइल नरेशको साथबाट बरामद भएको कुरा आफूलाई जानकारीमा नआएको सुवेदी बताउँछन्।

अनुसन्धान अधिकारीका अनुसार नरेशलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि थप नयाँ तथ्य खुलेको छ। लोकबहादुरले तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको खुलेको हो।

प्रतिक्रिया