संखुवासभा सामूहिक हत्याकाण्डको पाँच दिन, कहाँ पुग्यो अनुसन्धान?


काठमाडौं – संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको शनिबार पाँच दिन भएको छ। गत २१ भदौ सोमबार बिहान बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

६ जनाको वीभत्स हत्याको कारण खोतल्न प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ। अनुसन्धानमा उच्चस्तरीय टोली नै लागेको भए पनि अहिलेसम्म घटना रहस्यमय नै छ। घटना घटेको दिनदेखि अनुसन्धानमा खटिएको प्रहरी टोली ५ दिन बितिसक्दा पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।

२४ भदौमा अर्थात घटनाको तीन दिनपछि सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी समेत घटनास्थल पुगेका थिए। तर, पाँच दिन बितिसक्दा पनि विभत्स हत्या प्रकरण रहस्यमै छ।

त्यस्तै घटनाकै दिन जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदी आफै घटनास्थल पुगेका थिए। अहिले पनि उनी मादीमै छन्। उनले अनुसन्धान भइरहेकाले हत्यामा संलग्न व्यक्तिहरु चाँडै पक्राउ पर्ने बताए।

‘घटनाको अनुसन्धान सहयोगका लागि फरेन्सिक टिमले समेत काम गरिरहेको छ,’ उनले भने। त्यहि दिन जिल्ला प्रहरी कार्यालयले शव भेटिएको स्थल सिल गरेको थियो। थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसहित टोली बोलाएर परिचालन गरिएको थियो।

अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरी सक्रियरूपमा लागेको उनले जानकारी दिए। अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको भनाइ थियो।

शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरिँदै

घटनामा संलग्न दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी छ। हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको प्रहरीको दावी छ। प्रहरीले सामूहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शंकास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ।

हत्याकाण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो।

मृतकका परिवार तथा आफन्तहरुले घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीका लागि दबाब दिएका छन्। पाँच दिन हुँदा पनि प्रहरीले घटनामा संलग्नको पहिचान समेत गर्न नसकेकाले अपराधि उम्किनसक्ने आशंकाले गर्दा आफन्तले दबाब दिएका हुन्।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित खटाइएको थियो। घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटाइएको थियो। कुकुरले पनि केही तथ्य पत्ता लगाउन नसकेपछि मंगलबार नै धरान फर्किएको छ।

कुकुरले पनि केही ‘क्लू’ दिन नसकेपछि घटना कसले किन गरायो? अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई घटना पेचिलो बनेको छ। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली समेत संखुवासभा पुगिसकेको छ।

तर, अहिलेसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिको केही पहिचान पाउन सकेको छैन्। अनुसन्धानको लागि संखुवासभा पुगेका सिआईबीका डिएसपी रुगम कुँवर भन्छन्, ‘घटनाको अनुसन्धान प्रगतीउन्मुख रहेको छ। जतिसक्दो चाँडो हामी यो घटनालाई टुंग्याउँछौं।’

घटनामा एकजनाको मात्रै संलग्नता रहेको प्रहरीको आशंका

घटना चिनेजानेको व्यक्तिबाट भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ६ जनाको हत्यामा एक व्यक्तिको मात्रै संलग्नता भएको हुनसक्ने घटनाको प्रकृतिको विश्लेषण गर्दा खुलेको छ।

‘घटनामा एक जनाको मात्र संलग्नता जस्तो देखिन्छ,’ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘सुरुमा तेजबहादुर कार्कीको हत्या गरेपछि उनको परिवार अन्य सदस्यको हत्या भयो भन्ने हाम्रो विश्लेषण हो।’ प्रहरीले आर्थिकदेखि अन्य रिसिईबीको पाटोमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

मृतकहरुको घरभित्रबाट प्रहरीले खोजतलास गर्ने क्रममा केही नगद र सुनका गरगहना समेत भेटेको छ। घरभित्रै नगद र सुनको गहना फेला पर्नुले लुटेर समूहमाथिको आशंका कम भएको हो। लुटेरा समूहले हत्या गरेको थियो भने नगद र सुनको गहना किन छोड्थ्यो र?

तेजबहादुरको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनाको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो। प्रहरीका अनुसार घटना बिहान ५ बजेदेखि ६ बजेको बीचमा भएको देखिन्छ।

मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

प्रहरीका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको हो।

बुधबार उनीहरु ६ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ। मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो।

शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान पुगेका थिए। प्रहरीका अनुसार उनीहरुको धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ। सोही घटनामा परिवारका एक जना वृद्ध सदस्य बौद्धमान कार्की भने जोगिएका हुन्। उनी आँखा पनि नदेख्ने र कान पनि राम्रोसँग सुन्दैनन्।

प्रतिक्रिया