संखुवासभा सामूहिक हत्याकाण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए


काठमाडौं – संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानको घेरामा राखेको छ।

एकै परिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं। १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।

उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयबासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक ९एसपी० भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो।

लोकबहादुरले छ जनाको हत्या गरेको बताइएको छ।

लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए।

संखुवासभा प्रहरीले घटनाको सातौं दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो। रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो। रासस

प्रतिक्रिया