आख्यानकार विकलको पूर्ण कदको शालिक अनावरण
काठमाडौं–वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिक गोकर्णेश्वर नगरपालिका वडा नं.९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्राङ्गणमा अनावरण गरिएको छ । विकलको ९२ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उनको पूर्ण कदको शालिक अनावरण गरे । नगरपालिकाको रु १५ लाख आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलले सो शालिक बनाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले साहित्य विकासका लागि नगरपालिकाले गत वर्ष जस्तै चालु आर्थिक वर्षमा बृहत् साहित्यिक कार्यक्रमका लागि बजेट विनियोजन गरिएको र आगामी दिनमा पनि नगरपालिकाका साहित्यिक संस्थाको सुदृढीकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नगर उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, विकलका ज्येष्ठ सुपुत्र एवं प्रतिष्ठानका महासचिव विजय चालिसे, डा विदुर चालिसे, शान्ति रिसाल, विकलका कनिष्ठ पुत्र महेन्द्र चालिसे, भैरव अर्याल पुरस्कार गुठीका विमल अर्याललगायतले विकलको साहित्यिक व्यक्तित्वको चर्चा गरेका थिए ।
विकलले साहित्यसँगै संगीत, चित्रकला तथा समाजसेवामा समेत योगदान दिएका छन् । विकलको स्मृतिलाई चिरस्थायी बनाउन विसं २०६३ मा उनी जीवित हुँदै प्रतिष्ठान स्थापना गरिएको हो । विकलले आफू बसेको घरसमेत प्रतिष्ठानलाई हस्तान्तरण गरेका थिए । विसं २०७२ को भूकम्पले भत्किएको भवन पुनःनिर्माण गरी पुस्तकालय र सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।
सोही अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा क्रमश ः विभूति अधिकारी, इन्दिरा थापा र सदिष्मा अधिकारी पहिला, दोस्रा र तेस्रा भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीसहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीले माल्यार्पण गरेका थिए ।
शान्ति समाजबाट स्रष्टा सम्मान
मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा पाँच जिल्लामा स्रष्टा सम्मान गरेको छ । समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ती स्रष्टालाई सम्मान गरे । विसं २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ल, पवित्रादेवी चौलागाईँ मानवअधिकार स्रष्टा सम्मान आहुति, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइला, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधान, जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेल र भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गरियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टालाई अन्य पाँच सामाजिक संस्थाका तर्फबाट समेत सम्मान गरिएको थियो । सो अवसरमा वरिष्ठ नेता पौडेलले महाकवि देवकोटाको साहित्य जनताको मनमा बसेको बताउँदै नीति, सिद्धान्त र आदर्शको राजनीति हराउँदै गएका विषयलाई पनि साहित्यमा प्रस्तुत गरिनुपर्ने सुझाव दिए ।
सांसद गगनकुमार थापाले देशको मौलिक संस्कृतिलाई साहित्यका माध्यमबाट उजागर गरिनुपर्ने बताए । सांसद शेरबहादुर तामाङले भगवान् शिवको उत्पत्ति भएको विश्वास गरिने देशमा उनले नै सिकाएको योग, नृत्य र जडिबुटीजन्य औषधि बिर्सिएर अरुले सम्झाउनुपर्ने अवस्था आएकाले यस्ता विषयलाई पनि साहित्यका माध्यमबाट जनसमक्ष प्रस्तुत गरिनुपर्ने सुझाव दिए ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले समृद्ध साहित्यले नै समाजलाई सुसंस्कृत र समुन्नत बनाउने धारणा राख्दै समाजले शान्ति काव्य प्रवाहका नाममा १०० कार्यक्रम गरिसकेको तथा साहित्यको आराधना र स्रष्टा सम्मानलाई अभियानका रुपमा अघि बढाइने प्रतिबद्धता जनाए ।
यसैगरी आजै दाङ, नवलपुर, कैलाली र पर्सामा सम्बन्धित जिल्ला शाखाले कार्यक्रम आयोजना गरी स्रष्टा सम्मान गरेको समाजले जनाएको छ । समाजद्वारा स्थापित स्रष्टा पुरस्कारको राशि रु २० हजार र साथमा ताम्रपत्रसहितको सम्मानपत्र छ ।
(रासस)