जुट काठमाडौं, पुग मेलम्ची!


काठमाडौं – कालो लेदोले भरिएको डरलाग्दो बाढीले बजारलाई बगरमा परिणत गराइदिएको छ। बगरबीच नदीछेउमा चुर्लुम्म डुबेको पक्की घरहरु बाढीमै हराइसकेको छ भने केहीको अवशेष देखिन्छ। बजारका पक्की घरलाई कालो लेदोले ढाकेपछि यतिखेर सिन्धुपाल्चोकको मेलम्ची पीडामा छ।

कल कल बगिरहेको नदी सुकाएर उपत्यकावासीको सुकेको आँत भिजाउन पानी पठाउने मेलम्ची आज साँच्चै पीडामा छ। त्यसैले मेलम्चीको स्थानीयहरुको लागि काठमाडौंवासी एकजुट भएर राहत संकलनमा जोड दिनुपर्ने आवश्यक छ। त्यसैले ‘जुट उपत्यका, पुग मेलम्ची।’

संकटमा परेकालाई सहयोग गर्नु सबै नागरिकको नैतिक दायित्व पनि हो। मेलम्चीको पानी उपयोग गर्ने काठमाडौंवासीले यस्तो पीडामा सक्दो अतिरिक्त सहयोग गर्नुपर्छ। अझ मेलम्चीले त काठमाडौंलाई पानी नै खुवाएको छ। यो हिसाबले पनि मेलम्चीको संकटमा मल्हम लगाउनुपर्छ।

काठमाडौं र मेलम्चीको सम्बन्ध नङ–मासु जस्तै हो। मेलम्चीलाई चोट लाग्दा काठमाडौंलाई दुख्यो है भन्ने सन्देश दिन पनि काठमाडौंवासीले राहत संकलनमा जोड दिनुपर्छ। मेलम्चीको गुन तिर्न महानगरवासी टुलुटुलु हेरेर बस्न हुन्न।

यता, काठमाडौंवासीको आँत भिजाउन पानी पठाउने मेलम्चीको लागि काठमाडौं महानगरपालिकाले समेत सहयोगको घोषणा गरेको छ।महानगरका अनुसार पीडामा रहेको मेलम्चीको लागि २ करोड रुपैयाँ सहयोगको लागि बजेट छुट्याइएको छ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन्। यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताए। हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन्।

कल कल बगिरहेको नदी सुकाएर उपत्यकावासीको सुकेको आँत भिजाउन पानी पठाउने जिल्लाको समृद्ध नगरमा गनिने मेलम्ची बजारमा गत मंगलबार आएको डरलाग्दो बाढीले एकैरातमा तहसनहस पारिदियो। तर, महानगरबाहेक काठमाडौंका अन्य संघसंस्थाहरुले अहिलेसम्म मेलम्चीलाई सहयोग गर्ने केही घोषणा गरेको छैन।

काठमाडौंमा सबै जातिका मानिसहरु बसोबास गर्छन्। सबै जातजातीहरुको समेत आ–आफ्नो संगठन छ। महिला समूह छ। क्लबहरु छ। विभिन्न संघसंगठनहरु छ। अहिलेसम्म कसैले मेलम्चीको लागि सहयोग गरौं भनेर अघि बढेको देखिन्न।

घटनालगत्तै पीडितहरुको उद्धार र राहत संकलनको काम भइरहेको छ। पीडामा रहेको मेलम्चीवासीलाई राहत संकलनको लागि विभिन्न संघसंस्थादेखि स्थानीय सरकार, कलाकारहरु, पत्रकारहरु, लागिपरेका छन्। धेरैजसोले मेलम्ची नै पुगेर राहत वितरण गरिरहेका छन्।

कोरोनासँगै आएको बाढीले मेलम्चीलाई थप पीडा परेको छ। मेलम्चीका स्थानीयहरुले हेर्दाहेर्दै आफ्नो मात्र होइन, आफन्त नै गुमाएका छन्। मेलम्ची बजारमा झण्डै डेढ सय घर पूरै डुबेका छन्। आधा दर्जन घरका केही भाग देखिएको छ।

मेलम्चीमा आएको बाढीले धेरैको शरीरमा एकसरो कपडाबाहेक केही छैन। कतिले ऋण खोजेर घर बनाएका थिए। कतिले आफन्तहरु गुमाएका छन्। कतिले ज्यान गोजाएपनि अरु केही जोगाउन सकेनन्। सबै एकअर्कालाई हेरेर चित्त बुझाउन बाध्य छन्। कतै जान पनि कोरोनाको डर छ।

००००
गत मंगलबार साँझ काठमाडौं उपत्यकालगायत सबै ठाउँमा भीषण वर्षा भइरहेको थियो। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीको बहाबले खतराको तह पार गर्दै थियो। सोहीबेला साँझ सात बजेतिर वडा कार्यालयले माइकिङ गर्दै हिँड्यो, ‘नदीमा पानीको वहाव बढेकाले सबैजना सुरक्षित स्थानमा जान अनुरोध गरिन्छ।’

उक्त माइकिङलाई कतिले विश्वास गरेर सुरक्षित स्थानमा गएर बसे, कतिले विश्वास गरेनन् घरमै सुते। नभन्दै सोही दिनराति नभन्दै दुवै नदी उर्लियो। एकैछिनमा मेलम्ची बजारमा पस्यो। थाहा पाउनेहरु निस्केर सुरक्षित स्थानमा पुग्न भ्याए। कति निन्द्रामै थिए थाहा पाउने कुरा भएन।

मंगलवार साँझदेखि भएको वर्षा मेलम्ची बजारमा बजारमा त्यति क्षति पु¥याउला भनेर कसैले सोचेका पनि थिएनन्। मध्यराति नजिकैको खोलामा गड्याङगुडुङ गर्दै बाढी आएपछि निन्द्राबाट बिउँझनेहरु सुरक्षित ठाउँ खोज्दै निस्किए। थाहा नपाउनेहरु बेपत्ता भए।

जिल्ला प्रशासन कार्यालयका अनुसार ह्योल्मोभूमि, हेलम्बु हुँदै मेलम्ची खोलामा आएको बाढीमा परेर मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना प्रभावित भएका छन्। अविरल वर्षात्का कारण मंगलबार उर्लिएको मेलम्चीमा बाढी कसरी आयो भन्नेबारे यकिन तथ्य अहिलेसम्म खुल्न सकेको छैन्।

बाढी प्रभावित क्षेत्रमा बाढीले नौ पुल बगाएको छ। हेलम्बुमा चार झोलुंगे र तीन पक्की गरी सात तथा मेलम्चीमा एकरएक झोलुंगे र पक्की पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ। झोलुंगे पुल नुहँदा स्थानीयलाई हिँडडुलमै समस्या भएको छ।

०००००
मेलम्ची बाढीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक÷एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।

उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिकाका फरक–फरक स्थानमा चिनियाँ नागरिक यु ची झु र भारतीय कमललोचन महतोको शव फेला परेको हो। यसअघि बुधबार जिल्लाकै इन्द्रावती नदी बगरमा चिनियाँ गोङ टियान छियोको शव फेला परेको थियो।

उनको सनाखत भने बुधबार मात्रै भएको हो। मृतक तीनैजना मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कामदार हुन्। आयोजनाको मुहान अम्बाथानमा हेडवक्र्स बनाउने काममा उनीहरु संलग्न थिए। आयोजनाको अम्बाथानस्थित क्याम्पमा ७० कामदार रहेकोमा ४७ को उद्दार गरिएको थियो। आठ कामदार बेपत्ता रहेकोमा तीनको शव फेला फरेको हो।

अझै पाँच कामदार बेपत्ता छन्। कामदारसहित बेपत्ता १७ को खोजी कार्य भइरहेको सहायक प्रजिअ खनालले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली, बेपत्ताको खोजी, उद्दार, राहत वितरण, क्षति संकलन कार्यमा परिचालन भइरहेको छ।

तीन सय ४५ जनाको संयूक्त सुरक्षा टोली बाढी प्रभावित क्षेत्र मेलम्ची नदी करिडोरमा परिचालित रहेको खनालले जनाए। स्थानीय प्रशासनका अनुसार दुई भारती, एक चिनियाँ नागरिक र स्थानीयसहित १४ अझै बेपत्ता छन्। बाढीमा हेलम्बु गाउँपालिकाका मात्र ११ बेपत्ता छन्।

प्रतिक्रिया