‘ओई पुलिस पखलास्, हाम्रो सरकार आएपछि देखाइन्छु!’


सर्वप्रथम त नेपाल प्रहरीका कोही पनि कर्मचारीलाई सुझावबाटै यो आलेखको प्रस्थानविन्दु खोजी गरेको छु।

एउटा सुझाव छ– नेपालको कानुनमा कुनै पनि अपराधीलाई त्यति ठूलो सजाय छैन। कुनै अपराधको विन्दुमा पुगेर कुनै चिज पत्ता लागेको छ भने पहिला त्यसका कर्तुतका प्रचार गर्नुहोस्। किनभने तपाईको हातमा सजाय दिन सक्ने अधिकार छैन। त्यस अभियुक्तले प्रयत्न गरेको अपराधको सजाय भनेकै त्यसको नाङ्गो चरित्र हुनेछ।

प्रहरी कर्मचारी!

सबैलाई थाहा छ यो चेन अफ कमान्डको संगठन हो। समाजको साना–साना ईकाईमा रहेका राजनीतिज्ञलाई यो चिज राम्रोसँग थाहा छ। तर, उनीहरूका धम्कीका भाषा बलिया हुन्छन्। सामाजिक सञ्जाल र मिडियाहरूमा हालैमा पोखराको एउटा घटनामा कांग्रेसका कुनै कार्यकर्ता एक जना ड्युटीमा खटिएका प्रहरी निरिक्षकलाई भन्दैथिए– ‘ओई पुलिस, पख्लास्, हाम्रो सरकार आएपछि देखाइदिन्छु।’

निसन्देह राजनीतिक सत्ता पलटको खेल चलिरहेका बेला, राजनीतिक रुपमा जुन प्रकारका आदेश तल्लो तहसम्म आयो ड्युटीमा खटिएको अफिसरले त्यहि आदेश मान्यो। तर अमुक कार्यकर्तासम्मको यति विध्न धम्की सहनुपर्छ भने प्रहरी संगठन र त्यसमा काम गर्ने अफिसरको मनोवलको मनोदशा कस्तो होला?

राजनीतिक प्रवित्ति र चरित्रको अवस्था दुनियाँले देखिसकेको छ, अहिले। तर राज्यको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र भन्दा पनि पहिलो निकाय प्रहरी हो जो समाजको तल्लो तहसम्म जिम्मेवारी बोकेर पुग्नुपर्छ। अनि, त्यसैलाई धम्की? यो कुन प्रकारको सामाजिक राजनीतिक चेतको आकार क्षेत्रफल र आयतन हो? यी प्रश्नहरू उपल्ला तहका नेतालाई गर्ने कि नगर्ने?

कांग्रेस कार्यकर्ताको मात्र प्रश्न होइन यो। हर राजनीतिक दल र धारणा बोकेका ति व्यक्ति जसले राज्यसत्तामा आफूलाई कुनै न कुनै रुपमा प्रभावमा राख्ने गर्दछन्। यसमा कर्मचारीतन्त्र, कानुनकर्मी, मिडिया हाउस पनि पर्छन्।

प्रहरी अधिकारीमा रहेका कमजोरीका विषयमा पनि खुट्याइनेछ। तर, त्यसअघि त्यस संगठनको तल्लो ईकाईमा मिहेनत गर्ने एउटा परिश्रमी प्रहरीको सवाल महत्वमा राखौं।

जीवनको उत्तरार्धतिर प्रहरीको सेवामा खटिइरहेको एउटा व्यक्तिको महत्वकांक्षा कति हुन्छ? सामान्य जीवनयापन र परिवार पाल्नुपर्ने व्यथा मात्र होइन? यसभन्दा बाहेक उसमा देश सेवा गर्ने जाँगर ओतप्रोत हुनु होइन?

कोरोना महामारीको यो ठूलो ताण्डवमा उनीहरू लकडाउन भनुन या अनेक आदेश त्यसको फ्रन्टलाइनमा खटिन्छन्। राज्यले लगाएको काम अनुशासनको दायरामा गर्छन् (केही अपवादले तोडेबाहेकका अवस्थामा)। घर परिवार, स्वास्थ्य केही नभनी खटिएका ति तमाम सिपाहीलाई नै एउटा राजनीतिक कार्यकर्ताले धम्की दिन्छ भने राज्य कस्तो छ अनि संगठनले कुन मनोबलमा काम लगाइरहेको छ? यो स्वभाविक प्रश्न बन्छ यतिबेला।

एउटा साधारण प्रहरी जवानको सपना त्यस संगठनको प्रमुख बन्ने वा राजनीतिक संरक्षणमा उपल्लो तहमा पुग्ने कुनै पनि आशा र महत्वकांक्षा हुँदैन। तर एउटा अधिकृतको कुत्सित आशा र महत्वकांक्षाले संगठनको गतिलाई दुब्लो बनाउँछ। यो प्रजातन्त्र आएयता नेपाल प्रहरीमा देखिएको एउटा लुलो अवस्था हो, नकार्न मिल्दैन

आँखा अगाडिको चित्र छ प्रहरीको तल्लो दर्जाको कर्मचारी कुनै अपराधी, गुन्डागर्दीको नाइकेलाई पक्राउ गरी उसविरुद्धका प्रमाण जोखिम मोलेर ल्याउने गर्छ। माथिल्लो तहको हाकिम उसँग कफि र मदिरापानमा मस्त हुन्छ। किनकी, राजनीतिमा अपराधीकरणको बर्चश्व भएपछि हाकिमका लागि त्यो ‘पावर सेन्टर’ बनिदिन्छ। नियती र नियतको भागीदार त्यहि तल्लो दर्जाको सिपाही बन्छ।

त्यो सिपाही जसले दीपक मनाङेलाई पक्राउ गरी कुनै बेला प्रहरी अधिकारीकोमा बुझायो, आजका दिनमा उसले त्यहि व्यक्तिलाई स्यालुट हान्दा उसको हात कति काँप्यो होला? मनभित्र कस्ता कस्ता प्रश्नहरु ठोक्किए होला? यी विश्लेषण गरिरहँदा यो देशको राजनीतिक दूर्दशा भन्नुपर्छ– पूर्वप्रधानमन्त्रीहरू राजनीतिक स्वार्थमा त्यस्ता व्यक्तिबारे लेख्छन्– रत्नाकर पनि बाल्मिकी भएका थिए।

विद्वान भनिएका महाशयहरू हो– त्यो त्रेता युगीन काल्पनिक कथा सुनाएर दुनियाँलाई के भन्न खोजेको? के ति दीपक मनाङेले धर्ना दिँदा बोलेको भाषा र टिप्पणी वाल्मिकीको यात्रामा रहेको थियो? म आशा गर्छु कुनै दिन मनाङेले लेखेको राजनीतिक रामायण पढौंला।

मनाङे एउटा प्रतिनिधिमूलक पात्र मात्र हुन्। कांग्रेस, एमाले या माओवादी सबैमा अनेक मनाङेहरू छन्। किनकी राजनीतिमा अपराधीकरणको बर्चश्व हुन थालेको छ। यो आजको अभ्यास थिएन तैपनि यो अभ्यासको अन्त आजको पुस्ताले देख्न खोजेको हो।

प्रहरीमा अवसरवाद र राजनीतिकरण

एउटा सिपाहीले मुटुमाथि ढुंगा राखेर किन काम गर्नु परेको छ? यसमा राजनीतिको मात्र दोष हो? राजनीतिक प्रणाली र त्यसमा प्रभाव राख्नेहरूलाई एउटा सिपाही काफी छ। किनकी, यसका दोषी त प्रहरीका हाकिम, बडाहाकिमहरू हुन्।

प्रहरीमाथि एउटा भनाई छ नि– जसले हामीलाई निक्कै घृणा गर्छन्, उनीहरू नै हामीलाई बोलाउँछन्, उनकै आवश्यक हौं हामी। अझ पनि प्रहरीमाथिको विश्वास गलिसकेको छैन। तर, प्रहरी त्यस्तो बनोस् न– जो हामीलाई चहान्छन्, उनलाई समस्या पर्दा हामीकहाँ आउँछन्, हामीलाई प्रेम गर्छन्

एउटा साधारण प्रहरी जवानको सपना त्यस संगठनको प्रमुख बन्ने वा राजनीतिक संरक्षणमा उपल्लो तहमा पुग्ने कुनै पनि आशा र महत्वकांक्षा हुँदैन। तर एउटा अधिकृतको कुत्सित आशा र महत्वकांक्षाले संगठनको गतिलाई दुब्लो बनाउँछ। यो प्रजातन्त्र आएयता नेपाल प्रहरीमा देखिएको एउटा लुलो अवस्था हो, नकार्न मिल्दैन।

समाचारहरूमा आउँछन्– कुन प्रहरी अधिकारी कहाँ सरुवा हुने? कसले गर्ने? कहाँको पहुँच? प्रधानमन्त्री के चहान्छन्? गृहमन्त्री के चहान्छन्? प्रतिपक्षी दलका नेता कसलाई चेप्न चहान्छन्? यी प्रश्नमा रुमल्लिएको छ संगठन। एउटा ठेकेदारले कुन पार्टीसँग कसरी डिल गरेर प्रहरीका प्रमुख बनाउने भन्ने जिम्मा लिन्छ भने त्यो संगठनमा चेन अफ कमान्डको हविगत के होला? अनि भन्दैन एउटा अमुक टोले दादाले ‘पख्लास्, मेरो सरकार आएपछि देखाउँछु?’

नेपाल प्रहरीमा सबै दोषी छैनन्। प्रहरीको कर्म पनि दोषी छैन। तर जुन प्रकारले यो राजनीतिक प्रणाली र यसभित्रका नेताहरूका चरित्र छन् प्रहरीको संगठनात्मक संरचना पनि त्यहि चरित्रको बन्ने लयमा छ। सत्य सेवा सुरक्षणम् प्रहरी कार्यालयका नारामा मात्र सीमित हुन थालेका छन्। यसको उदाहरण पर्याप्त छन्।

प्रहरी राज्यप्रति उत्तरदायी संस्था हो। राज्यमा बस्नेका कुत्सित मनसायको अनुयायी होइन। जनताप्रति उत्तरदायी संस्थाले जनताका प्रतिनिधि बनेर आएका कार्यकारी प्रमुख हुन् या अरुलाई जवाफ दिनु पर्ला तर जवाफदेहिता जनताप्रति मनग्य हुन्छ। कानुनको धज्जी उडाउने, प्रहरीको खिल्लि उडाने अवस्थाका बनाउनका लागि संगठनलाई फौजी भनिएको होइन। नेपालको फौजी संगठनमा नेपाली सेना जस्तो चेन अफ कमान्डमा कुनै चलेको छैन। यद्यपि, उसभित्रका अनेक प्राविधिक समस्या होलान्। तर, प्रहरी किन त्यसो हुन सकेन?

आज समाजमा प्रहरी अगाडि देखिए पनि व्यवाहारिक र चारित्रिक रुपमा राम्रो मान्दैनन् आम मानिस। किन प्रहरी कार्यालयमा उनीहरुविरुद्ध प्रदर्शन हुन्छन्? कहिँ न कहिँ राजनीतिक व्यक्तिको प्रभावका आधारमा अपराध अनुसन्धानलाई मिसगाइड गरिएको हुन्छ। तर, यसो हुन नदिनका लागि संगठनको उपल्लो तहमा पुगिरहेका अफिसरले नै प्रतिज्ञा लिनुपर्ने अनिवार्यता देखिएको छ।

समाजको चित्रलाई घोत्लिएर अध्ययन गरी प्रहरीले आफ्नो हाँकलाई बढाउनका लागि मिहिनेत त गर्नैपर्ने देखिएको छ। जसले संगठनको गर्विलो इतिहासलाई बलियो बनाओस् र संगठनमा रहेकाहरुले मनोबलमा काम गर्न सकुन्। आज किन तल्लो दर्जाका प्रहरी कर्मचारी ‘पेन्सन’ हुनासाथ संगठनबाट राजीनामा दिइरहेका होलान्? मनोबल र गर्विलो पहिचान हुँदा उनीहरू यसरी छुट्टिन्थे होला? यसलाई संगठनका उपल्ला तहका अधिकारीले संश्लेषण गर्नुपर्ने अनिवार्य छ। समाजले प्रहरीलाई अझ केही दशकसम्म गतिलो र गर्विलो नजरले नहेर्लान् । तर, संगठनले आफूलाई अब्बल बनाउनुमा नै कुनै अमुकको धम्की सहनुपर्दैन।

प्रहरीमाथि एउटा भनाई छ नि– जसले हामीलाई निक्कै घृणा गर्छन्, उनीहरू नै हामीलाई बोलाउँछन्, उनकै आवश्यक हौं हामी। अझ पनि प्रहरीमाथिको विश्वास गलिसकेको छैन। तर, प्रहरी त्यस्तो बनोस् न– जो हामीलाई चहान्छन्, उनलाई समस्या पर्दा हामीकहाँ आउँछन्, हामीलाई प्रेम गर्छन्। र, यो मनोबल बढाएर, हौसला प्रदान गरेर, समाजसँग नजिक भएर दिने परिणामका आधारमा मात्र सम्भव छ। नकी, कुनै धम्की सहेर।

प्रतिक्रिया