कोरोनाविरुद्धको खोप नपाएको भन्दै ट्यांकर चालक आन्दोलित, पेट्रालियम ढुवानी अवरुद्ध


काठमाडौं – बागमती प्रदेशको पेट्रोलियम ढुवानी सोमबार पनि अवरुद्ध भएको छ । कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले पेट्रोलियम ढुवानी दोस्रो दिन अर्थात सोमबार पनि अवरुद्ध गरेका हुन् ।

उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले जनाएको छ ।

ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको थानकोट प्रादेशिक डिपो प्रमुख अभिषेक ठाकुरले बताए । खोपको व्यवस्था गर्न डिपो तथा केन्द्रिय कार्यालयबाट पहल भइरहेको भन्दै आन्दोलन रोक्न आग्रह गरे पनि सफल नभएको ठाकुरले बताए । स्वास्थ्य मन्त्रालय, विभाग तथा सीसीएमसीमा खोपका लागि पत्राचार भएको पनि उनले बताए ।

खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ ।

प्रतिक्रिया