ओलीका राजनीतिक मिँयो, जसले संगठनका निम्ति लाभका पद ताकेनन् 


काठमाडौं– पछिल्लो पटक मन्त्रिपरिषद विस्तारका क्रममा चर्चाको नाम थियो– महेश बस्नेत। नेकपा एमालेका युवा नेता, बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक संगठनात्मक र युवा पंक्तिको नेतृत्वकर्ता पनि हुन्।

धेरैका अनुमान र अपेक्षा थियो, उनी गृह मन्त्री बन्छन् भन्ने। तर, साथमा गृहमन्त्री तय गरिएका नेता खगराज अधिकारीको पनि नाम स्पर्धामा थियो। ‘अधिकारी उमेरमा केही सिनियर पनि रहेकाले अहिले मन्त्री बन्ने भन्दा पनि एमालेको जीवनलाई सक्रिय बनाउने भूमिकालाई बस्नेतले रोज्नुभयो’, एक जना युवा नेता भन्छन्,‘उहाँको राजनीतिको गति बलियो छ, मन्त्री भन्ने पद फेरि पनि पाउन सक्नुहुन्छ, अहिलेको अवस्था प्रधानमन्त्रीको राजनीतिक जीवनलाई अझ बलियो बनाउन भूमिका खेल्नु हो।’

ओली आफैं अध्यक्ष रहेको एमालेभित्र नै विवाद र संगठनका समानान्तर गतिविधि अन्य नेताले चलाइरहेका बेला पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनका लागि बस्नेत सक्रिय छन्। उनी युवा पंक्तिको लिडरका रुपमा ओली र पार्टीका पक्षमा मेचीदेखि महाकालीसम्म आन्तरिक पैरवी र संगठन निर्माणमा सक्रिय रहेका छन्।

‘जिल्लामा मात्र होइन केन्द्रमा पनि युवा पंक्तिलाई यो बेला परिचालन गर्नेदेखि एमालेको भूमिकालाई प्रभावकारी बनाएर प्रधानमन्त्री सफल बनाउने अभियान नै युवा नेता बस्नेतको हो’, ति नेता भन्छन्,‘यो अभियानमा रहेका कारणले मन्त्री या लाभका पदका लागि उहाँले मरिहत्ते गर्नुभएको छैन।’

हुन पनि ओलीको सबैभन्दा बलियो मिँयोका रुपमा बस्ने अहिलेदेखि नै परिचित होइनन्। जुन बेला माओवादी र त्यसको अर्ध सैनिक बल योङ कम्युनिस्ट लिग (वाइसीएल)को दबदबा थियो, एमाले कार्यकर्ताको हत्या र आक्रमण चलिरहेका थिए ओलीले माओवादीविरुद्ध लिएको कडा टिप्पणीलाई बस्नेतले व्यवाहारिक रुपमा नेतृत्वका साथ प्रतिरोध गरिदिए। जसले एमालेको पहिचान, परिचय र संगठनमा आत्मबल बढेको थियो।

‘अहिले जो जसले जे भने पनि प्रधानमन्त्री ओलीले त्यसबेला लिएको गतिमा बस्नेतको नेतृत्व नभएको भए एमालेका युवा कार्यकर्ता को बाँकी रहन्थे र? माओवादीले कति प्रचण्ड थैवहरू बनाउने थिए र एमालेले गुमाउनुपर्ने थियो?’, ति युवा नेता भन्छन्,‘कम्तिमा माधवकुमार नेपालहरुले अहिले त्यो पृष्ठभूमीलाई विर्सिएका छन्। पार्टी रहन्थ्यो? महेश बस्नेतहरु नभएको भए उनीहरुको राजनीति कहाँ हुन्थ्यो?’

संगठनमा ओलीलाई कर्नरमा राखिएको बेला होस् वा माओवादीले एमाले कार्यकर्तामाथि कठोर आक्रमण गरेको बेला होस्। ओलीको योजनालाई फिल्डमा बलियोगरी कार्यान्वयन र प्रतिरोधात्मक संघर्षमा लिडरका रुपमा भिँड्ने नेता हुन् बस्नेत। उनलाई चिन्नेहरू भन्छन्,‘ओलीको युथ फोर्सको धारणालाई बस्नेतको नेतृत्वले नै कार्यान्वयनको कसीमा पुराएका हुन्। पछिल्ला दिनमा पनि राजनीतिमा ओलीविरोधीको प्रतिरोधमा बस्नेत नै सक्रिय भएर देखा परेका छन्।’

राजनीतिमा पक्षधरता लिने एकथरी हुन्छन् तर योगदानले नेतृत्व जोगाउने अर्काथरी। बस्नेत ति अर्काथरी नेता हुन् जसले ओलीको राजनीतिक पक्षधरताका निम्ति लाभको पद त्याग गरी अन्यलाई नै जोडिने स्पेश दिए।

पछिल्ला राजनीतिक घटनाक्रममा पनि बस्नेतको सहयोग ओलीलाई अतुलनीय रह्यो। खासगरी ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयको विरोधमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतको एउटा ठूलो पंक्तिले शक्ति प्रदर्शन गर्दा त्यसलाई माथ खुवाउनेगरी मोटरसाइकल जुलुसदेखि युवा पंक्ति व्यवस्थापनमा बस्नेत अब्बल देखिए।

यति मात्र होइन, भक्तपुर–२ को सांसद रहेका उनले सरकारको नाम नै उँचो हुनेगरी विकासका काममा उस्तै सक्रियता देखाएका छन् जसले ओलीको ओजलाई अझ बलियो बनाएको छ। ‘मन्त्री र लोभसहितका पदका निम्ति को–को बालुवाटार छिर्छन् त्यो उहाँको विषय र चासो होइन तर संगठनमा आफूले पद दिएर पनि प्रधानमन्त्री र पार्टी अध्यक्षलाई कसरी बलियो राख्न सकिन्छ भन्नेचाहिँ अपेक्षा र उद्देश्य हो।’

प्रतिक्रिया