

मदनकृष्णको आग्रह– ‘मास्क लगाउन विशेष ध्यान दिनुहोला है’

काठमाडौं– ‘मह’को ‘म’ अर्थात कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना महामारीको यो समयमा साबुनपानी, सेनिटाइजर र सामाजिक दुरीसँगै मास्क लगाउनमा ध्यान दिन आग्रह गरेका छन् । सहपाठी हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको थाहा पाएपछि आफू ‘झसंग’ भएको उल्लेख गर्दै मदनकृष्णले मास्कले धेरै हदसम्म कोरोना संक्रमणबाट बचाउन मद्दत गर्ने गरेको जनाएका छन् ।
उनले फेसबुक पेजमा एक स्टाटस लेख्दै हरिवंशलाई कोरोना पोजेटिभ भइसकेको कुरा हरिवंश आफूलाई पनि थाहा नभएको जनाएका छन् । सँगै सुटिङमा दुई दिन एउटै गाडीमा मास्क लगाएर हिँडिरहँदा हरिवंशलाई कोरोना संक्रमण देखिनु आश्चर्यको कुरो रहेको लेखेका छन् ।
यस्तो छ उनको स्टाटसः–
हरिवंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ यो कुरा हरिवंश आफैलाई पनि थाहा थिएन । ऊ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन । हामी दुबैजनाले यस विषयमा कुरै नगरे पछि विचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन शंकासम्म पनि नहुनु स्वाभाविकै थियो ।
हामी त दुई दिनसम्म मजाले सुटिङमा व्यस्त भएर, एउटै गाडी धेरै बेरसम्म चढेर हिँडीरहेका थियौं । भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त …! ? भन्दा त लौ मार्यो …
एक छिन त म पनि झसंग भएँ । किनभने हरिवंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठो कबाफ बराबर हुन सक्छ ।
तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखा परिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें । एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका मसमेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो ।
कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन ।
तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।
त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो । त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगाउन विशेष ध्यान दिनु होला है ।

