माओवादी ब्युँतिएपछि केन्द्रदेखि प्रदेशसम्म गुमायो १६ सांसद, कस–कसले छाडे प्रचण्डको साथ?


काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि संघीयदेखि प्रदेशसम्मका सांसदहरु आ–आफ्नै पार्टीमा फर्किने धेरैको अनुमान थियो। तर, बिडम्बना त्यस्तो हुन सकेन।

माओवादी केन्द्रले नराम्रो परिणाम ब्यहोर्नुपरेको छ। सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रलाई देशभरबाट झन्डै डेढ दर्जन सांसद पद घाटा लागेको छ।

पद माया मारेर माओवादीका १६ जना संघीयदेखि प्रदेशसम्मका सांसदहरुले नेकपा एमालेलाई साथ दिएका छन्। संघीयमा ६ सांसद पद गुमाएको माओवादीले प्रदेशमा १० जना गुमायो।

प्रतिनिधि सभामा माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन्।

माओवादीले अर्घाखाँचीबाट निर्वाचित रायमाझी, कैलाली–४ बाट निर्वाचित भट्ट, रौतहट–३ बाट निर्वाचितसाह र कैलाली–३ बाट निर्वाचित चौधरीलाई कारबाही गरिसकेको छ।

कारबाहीमा परेका चारै जना बहालवाला मन्त्री हुन्। भट्ट ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए भने साविकको नेकपा विभाजित हुँदा प्रधानमन्त्री ओलीलाई साथ दिएका रायमाझी, साह र चौधरी १० पुस २०७७ मा मन्त्री बनेका थिए। रायमाझी ऊर्जा, जलस्रोत तथा सिचाईं, साह शहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्।

कारबाहीसँगै उनीहरुको सांसद पद चैट भएको छ। सांसद पद गएपछि उनीहरु पदमुक्त भएका थिए।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सदस्य नभएका व्यक्तिलाई मन्त्री नियुक्त गर्न सक्ने संविधानको धारा ७८ अनुसार उनीहरु चारै जनालाई मन्त्री पदमा पुनर्नियुक्ति दिएका छन्।

यस्तै राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा ‘बादल’ र अर्का सदस्य चन्द्रबहादुर खड्काले पनि ओलीलाई साथ दिएपछि माओवादीले कारबाही गरेको छ। खड्का पनि कारबाहीको प्रक्रियामा छन्। बादलले ओली क्याबिनेटमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै माओवादी केन्द्रले गण्डकी प्रदेश र बागमती प्रदेशबाट आफ्ना सांसद जोगाएको छ। बाँकी ५ वटै प्रदेशबाट माओवादीका १० जना सांसदहरुले एमालेलाई साथ दिएका छन्। अझ २ नम्बर प्रदेशमा माओवादीले धेरै सांसद गुमाएको छ।

त्यहाँ तीन जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र एकजना समानुपातिक सांसद गुमाएको छ। बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिरले माओवादी छाडेरे एमाले रोजेका छन्। प्रदेश २ बाट निर्वाचित माओवादीका सांसदहरु रामचन्द्र मण्डल धनुषा–१ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

बारा–३ को ‘क’ बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट– ३ को ‘ख’ बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन्।

उनीहरुले बरु सांसद पद गुमे पनि एमालेमै बस्ने र कारबाही भोग्ने बताउँदै आएका छन्। गत शुक्रवार उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए। तर उनीहरु कोही पनि स्पष्टीकरणको जवाफ दिएनन्।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन्। जसमध्ये चार सांसद एमालेमा पुगेपछि माओवादी कमजोर बन्ने निश्चित छ। उनीहरुलाई पदमुक्त गरेमा माओवादीका मात्र ७ सांसद प्रदेशसभामा रहनेछन्।

प्रदेश १ बाट ताप्लेजुङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य टंक आङबुहाङ एमाले भएका छन्। उनी माओवादी प्रदेश सभाको संसदीय दलका नेता नै रहेका उनी एमालेमा आएपछि अर्थ मन्त्री बनेका छन्।

यस्तै लुम्बिनी प्रदेशका दुई सांसद गुमाएको माओवादीले कर्णलीबाट दुई र प्रदेश १ बाट एक सांसद पद गुमाएको छ। एमाले प्रवेश गरेसँगै उनीहरु सबैलाई माओवादीले कारवाही गरिसकेको छ।

लुम्बिनीका प्रदेशसभा सदस्यमध्ये रूपन्देहीबाट निर्वाचित प्रदेशसभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी एमाले प्रवेश गरेका कारण कारवाहीमा परेका छन्। लुम्बिनी प्रदेशमा कुल ८७ सांसदमध्ये माओवादीको २० सांसद छ।

कर्णाली प्रदेशबाट माओवादी केन्द्रका २ जना प्रदेशसभा सदस्य एमालेमा प्रवेश गरेका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित ठम्मर विष्ट र दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई समेत माओवादीले कारबाही गरिसकेको छ। कर्णालीमा माओवादीको कुल सांसदमध्ये १३ सांसद थियो।

यस्तै सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट चुनाव जितेका झपट बोहराले एमालेलाई साथ दिएका छन्। कारबाहीमा परे पनि एमालेको साथ नछोड्ने बताउँदै आएका बोहोरालाई समेत माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण नदिएपछि बोहोरालाई पार्टीले कारबाही गरेको थियो।

सुदूरपश्चिम प्रदेशमा कुल ५३ सांसदमध्ये माओवादीको १४ सांसद थियो।

गत २३ फागुनमा अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएकाले कारबाही गरेको बताइएको छ।

यता, एमालेका सांसदहरु भने कोही पनि माओवादीमा प्रवेश गरेका छैनन्। पार्टीभित्र आन्तरिक किचलो रहे पनि एमाले छाडेर माओवादीमा जाने वातावरण नरहेको एमालेका एक नेताले अनलाइनन्यूजलाई बताए।

प्रतिक्रिया