वैदेशिक श्रमिकका लागि निःशुल्क स्वास्थ्य सेवा र परामर्श दिने निर्णय


काठमाडौँ – नेपाली श्रमिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य परामर्श तथा परामर्श सेवा उपलब्ध गराउने निर्णय गरिएको छ । दुई दिन अघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका श्रमिकको स्वास्थ्य सुरक्षाका लागि विशेष योजना अघि सारिएको घोषणा गरेका थिए ।

उक्त योजनाअनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले श्रमिकहरूको स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अब विदेशबाट फर्किएका नेपालीहरूका लागि निःशुल्क ओपिडी वार्ड स्थापना गरिनेछ । यस सेवाबाट लाभ लिन जो–कोही श्रमिक केन्द्रमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।

त्यस्तै, विदेश जान लागेकाहरूलाई श्रम मन्त्रालयद्वारा दिइने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र रोकथामका उपायबारे विज्ञ चिकित्सकले प्रशिक्षण दिने व्यवस्था गरिने भएको छ । साथै, वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्री उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

वैदेशिक रोजगारीकै क्रममा देखा पर्ने स्वास्थ्य समस्या समाधानका लागि छुट्टै हटलाइन नम्बर र सामाजिक सञ्जालमार्फत परामर्श सेवा सुरु गरिनेछ। यसका लागि ड्युटीमा रहेका मेडिकल अधिकृत खटाइनेछन् ।

त्यस्तै, वैदेशिक रोजगार विभागबाट अनुरोध भएमा विदेश जान लागेकाहरूको परीक्षण रिपोर्ट न्यूनतम लागतमा उपलब्ध गराउने निर्णय पनि केन्द्रले गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यी कार्यक्रमहरू कार्यान्वयनमा आएपछि वैदेशिक श्रमिकको स्वास्थ्य अवस्था सुधार हुने र हाल देखिँदै आएको समस्या कम हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया