

तत्काल वार्ता गरेर काममा फर्किन शिक्षकलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामार्फत सहमति गरेर आन्दोलन अन्त्य गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकको आन्दोलनले विद्यार्थीलाई मात्र हानि पुर्याउने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “आन्दोलनबाट कुनै फाइदा छैन, उल्टो विद्यार्थीलाई नोक्सानी हुन्छ । त्यसैले तत्काल वार्तामा आउनुहोस्, सहमति गर्नुहोस् र आन्दोलनबाट फर्किनुहोस् ।”
उनले सरकारले शिक्षकका मागप्रति नकारात्मक दृष्टिकोण नराखेको र वार्तामार्फत समाधान खोज्न सकिने स्पष्ट पारे। साथै, आन्दोलनको बहानामा संविधानविपरीत गतिविधि हुन नदिने चेतावनी पनि दिए ।
“संविधान र कानुनी सीमाभित्रै संघर्ष गर्नुपर्छ,” उनले भने, “अब वार्ताबाट समाधान खोजौं र विद्यालयको भर्ना प्रक्रिया अघि बढाऔं ।”

