


डरै डरमा मनाङका माटाका घर

मनाङ – हिमाली क्षेत्रमा पानी पर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।
परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो ।
माटो जमाएर बनाइएका घर जलवायु परिवर्तनको चेपुवामा परेर कङ्क्रिटले बन्न थालेका छन् । वर्षायाम लागेसँगै माटाका घर डरैडरमा रहेका छन् ।
विगतको तुलनामा मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छतले धान्न सक्ने अवस्था छैन । जसले गर्दा यहाँका घर पानीले भिजेर चुहिन थालेका छन् ।
पहिले माथिल्लो मनाङमा वर्षा नै हुँदैनथ्यो । अहिले विशेष गरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीमा निर्माण गरिएका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए ।
‘प्रकृतिसँग जुध्न सकिँदैन । प्रकृतिलाई फेर्न पनि सकिँदैन । जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । परम्परागत तथा मौलिकता नै मासिने अवस्थामा पुगेको छ । यसका साथै परम्परागत संस्कृतिलाई समेत असर गरेको महसुस हुन्छ’, उनले भने । विगतमा माथिल्लो मनाङमा वर्षा नहुने हुँदा यस्ता घर नै पहिचान बनेकामा अहिले फेरिँदै गएको उनको भनाइ छ ।
सदरमुकाम चामेमा पुराना परम्परागत घर देखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा नासोँ तथा चामे गाउँपालिकामा अधिकांश घर आरसिसी गरी निर्माण भएका पाइन्छन् । तर, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदा अझै पनि देख्न सकिन्छ ।
आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् ।
एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशु चौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरो नासिने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानी पुर्याउने गरेको छ ।
हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर परेको अध्यक्ष लामाले बताए । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुँदै गएको छ ।
‘पर्यटकको ‘हब’ का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटक तिलिचो जान मात्रै आउँदैनन् । उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले गुम्बा, छार्तेन, माटाका घरलगायत मौलिक पहिचान बनेको मनाङवासीको संस्कृति संरक्षण गर्नुपर्छ’, नार्पाभूमिका अध्यक्ष लामाले भने ।
उनले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र निस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि जीवन्त रहेको छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेन देख्न पाइन्छ ।
यी परम्परागत गुम्बा छोर्तेन यहाँका सांस्कृतिक सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा, छोर्तेन तथा माटाका घरको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अधिक वर्षा हुँदा यहाँका बासिन्दाले कङ्क्रिटका घर बनाउन बाध्य भएका बताइ । ‘विगतमा जस्तो पानीको आवश्यकता हिउँले पूरा गर्दैन । भारी वर्षा हुन्छ । जसले चिसो ठाउँ भएकाले वर्षाबाट बच्न माटाको घर फेरिन बाध्य भएका छौँं’, उनले भने, ‘चामे–५ मा केही परम्परागत मौलिक घर थिए । अहिले ती पनि नासिँदै गएका छन् । जति वर्ष फेरिन्छ, त्यति वर्षा बढ्दा समस्या भएको छ ।’
बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन । तर, आधुनिकता छुँदै गर्दा आरसिसी घर बन्ने क्रम जारी छ । यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ ।
विज्ञका अनुसार माटोले बनेका घरले तातो चिसो सोसेर राख्छ । जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ । यी पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका साथै सम्बन्धित निकाय सचेत हुन आवश्यक छ ।
विशेष गरी जलवायु परिवर्तन न्यूनीकरण तथा हरित वृद्धिमा सरकारको चासो दिन सकेमा यहाँको जीवनशैलीलाई मुख्य रूपमा टेवा पुग्नेछ ।

