रोकिएको केयरगिभर अंग्रेजी परीक्षा भोलिदेखि पुनः सञ्चालन हुने


काठमाडौं –  इजरायलमा केयरगिभरका रूपमा जान चाहने नेपाली कामदारका लागि रोकिएको अंग्रेजी भाषा परीक्षा बिहीबारदेखि पुनः सञ्चालन हुने भएको छ।

परीक्षा सञ्चालन गर्ने संस्था सीआईएनए इन्टरनेसनलले सूचना जारी गर्दै बिहीबारदेखि तय भएका सबै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाएको हो।

संस्थाका अनुसार जेठ २६ र २७ गते सञ्चालन हुन नसकेका परीक्षाका लागि भने छुट्टै मिति तोकेर पछि परीक्षा लिइनेछ। ती परीक्षाको नयाँ मिति र समयबारे सम्बन्धित परीक्षार्थीलाई व्यक्तिगत रूपमा सन्देश (म्यासेज) मार्फत जानकारी गराइने बताइएको छ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार (केयरगिभर) पठाउन आधारभूत तहको अंग्रेजी भाषा परीक्षा अनिवार्य गरिएको छ।

परीक्षा दिन त्रिपुरेश्वरस्थित परीक्षा केन्द्र पुगेका परीक्षार्थीहरूले केही विषयमा असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेपछि परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

तर वैदेशिक रोजगार विभागले परीक्षा स्थगित नगर्न निर्देशन दिएपछि सीआईएनए इन्टरनेसनलले पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया