गस्तीबाट फर्किने क्रममा लडेर प्रहरी जवानको मृत्यु


दार्चुला-  दार्चुलामा गस्तीबाट फर्किने क्रममा कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गएराति करिब १० बजे गस्ती सकेर चौकी फर्किने क्रममा पानीघट्ट नजिकैको कुलोमा चिप्लिएर लडेका थिए।

गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा बुधबार राति २ बजेर १० मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार रातिको गस्ती सकेर फर्किने क्रममा दुर्घटना भएको हो।

अन्दाजी २५ वर्षीय प्रहरी जवान खेमराज भट्ट बैतडी जिल्लाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया