


६ महिनादेखि बैठक रोकिँदा काठमाडौंको बजेट अन्योलमा, मेयर बालेनमाथि दबाब

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनादेखि नबसेपछि विकास, नीति निर्माण र आगामी बजेट तयारी अन्योलमा परेको छ। कार्यपालिकाका ४० जना सदस्यहरूले मेयर बालेन्द्र साहमाथि तत्काल बैठक बोलाउन दबाब दिएका छन्। सोमबार बसेको अनौपचारिक छलफलमा ४१ सदस्यीय कार्यपालिकाबाट मेयरबाहेक सबैको उपस्थिति थियो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कम्तीमा महिनाैँमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान छ। तर पुस १० यता कुनै बैठक नबसेपछि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी छलफल नै हुन सकेको छैन। प्रवक्ता नवीन मानन्धरका अनुसार, समयमै बैठक नबसे आगामी बजेट कानुनी रूपमा ल्याउन सकिने सम्भावना कमजोर छ।
बर्खा नजिकिँदै गर्दा विपद् व्यवस्थापनसम्बन्धी तयारी समेत प्रभावित भएको जनप्रतिनिधिहरूको गुनासो छ। मेयर नेतृत्वको सीमा निर्धारण समिति र अन्य निर्णय प्रक्रियामा रोक लागेपछि संकट झनै बढ्ने चिन्ता उनीहरूमा छ।
एक कार्यपालिका सदस्यले मेयर बालेन साहलाई नागरिक होस् वा जनप्रतिनिधि कसैले खोज्दा पनि भेट्न नसकिने बताए। सामाजिक सञ्जालमै सक्रिय देखिए पनि नगरको आधिकारिक कामप्रति चासो नदेखिएको उनीहरूको आरोप छ।

