
परराष्ट्रमन्त्रीको जवाफ मान्दैनौँ, प्रधानमन्त्री स्वयं बोल्नुपर्छ : साम्पाङ
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले लिखित जवाफ दिए मात्र विपक्षी दलहरूले उठाएको विषय समाधान हुन सक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण आफूहरूलाई स्वीकार्य नभएको स्पष्ट पारे। उनले प्रधानमन्त्रीले हस्ताक्षरसहित लिखित जवाफ संसद्मा पठाएर सम्बन्धित मन्त्रीमार्फत वाचन गराए त्यसलाई स्वीकार गर्न सकिने धारणा राखे।
जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दै आएका छन्।
यसै विषयमा सहमति जुट्न नसकेपछि बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको थियो।
बैठकमा साम्पाङले भने, “परराष्ट्रमन्त्रीज्यूले दिएको जवाफमा हामी मान्दैनौँ। प्रधानमन्त्रीले लिखित रूपमा हस्ताक्षर गरेर जवाफ पठाउनुपर्छ, मन्त्रीले त्यसलाई वाचन गरिदिनुहोस्, हामी त्यसलाई स्वीकार गर्न सक्छौँ।”
उनले गल्ती गर्ने व्यक्ति स्वयंले त्यसको जिम्मेवारी लिनुपर्ने धारणा राख्दै अर्काले आएर सफाइ दिनु उपयुक्त नहुने बताए।
साम्पाङले संसद्, कानुन र संवैधानिक व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाउँदै व्यङ्ग्यात्मक शैलीमा प्रधानमन्त्रीप्रति टिप्पणीसमेत गरेका थिए।



कागजपत्र |
