कर विवादमा अर्थमन्त्रीको प्रतिवाद– ‘आरोपहरू प्रमाणविहीन र खण्डित हुने खालका छन्’


काठमाडौं –  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै इतिहासको सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको बताउँदै त्यसमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने दाबी गरेका छन्।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले सरकारविरुद्ध नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको आरोप लगाए। सुशासनको एजेन्डासहित अघि बढिरहेको सरकारलाई कमजोर बनाउने उद्देश्यले आधारहीन आरोप लगाइएको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै त्यसप्रति सतर्क रहन आग्रह गरे। उनले केही विषयलाई मात्र बारम्बार उचालेर सरकारको छवि धुमिल पार्ने प्रयास भइरहेको बताए।

करका दरसम्बन्धी विवादबारे बोल्दै उनले सरकारमाथि लगाइएका आरोपहरू तथ्य र प्रमाणविहीन रहेको दाबी गरे। ती आरोपहरू प्रारम्भिक परीक्षणमै खण्डित हुने प्रकृतिका रहेको उनको भनाइ थियो।

बैठकमा उनले भने, “नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छ। त्यसमा संलग्न व्यक्तिहरू चाँडै न्यायको कठघरामा पुग्नेछन्। देशको राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने शक्तिहरू अझै सक्रिय छन् कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ।”

उनले सरकारको नियतमाथि प्रश्न उठाउनुपर्ने कुनै कारण नरहेको जिकिर गर्दै सुशासन कायम गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको बताए।

अर्थमन्त्री वाग्लेले सेतो कपडामा हिलो छ्यापिएपछि केही दाग बाँकी रहन सक्ने उदाहरण दिँदै सरकारको प्रतिष्ठा कमजोर बनाउने उद्देश्यले विभिन्न आरोप लगाइएको हुन सक्ने आशंका पनि व्यक्त गरे।

प्रतिक्रिया