नवगठित मन्त्रालयले थाल्यो संस्थागत तयारी


काठमाडौं – नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेतृत्व पाएसँगै संस्थागत संरचना निर्माण र नीतिगत तयारीका काम अघि बढाएको छ।

सरकारको पछिल्लो कार्यविभाजनअनुसार साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि क्षेत्र अलग गरी ‘नवप्रवर्तन’ थप्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरिएको हो। मन्त्रालयको नेतृत्व स्वतन्त्र सांसद महावीर पुनले सम्हालेका छन्।

मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले केही दिनअघि जिम्मेवारी ग्रहण गरेसँगै मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट कामकाज सुरु गरेको जानकारी दिएकी छन्।

मन्त्री पुनले मन्त्रालय नयाँ भएकाले शून्यबाट संरचना निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै पदबहालीपछि मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका छन्।

सचिव बज्राचार्यका अनुसार मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चालनका लागि नमुना (टेम्प्लेट) तयार गरी सूचना प्रविधि विभागमा पठाइसकिएको छ। प्राविधिक प्रक्रियाअनुसार केही समयभित्र वेबसाइट सार्वजनिक हुने अपेक्षा गरिएको छ।

हाल मन्त्रालयमा २४ जना कर्मचारी कार्यरत छन्। नयाँ सङ्गठनात्मक संरचना स्वीकृत भएपछि कर्मचारी संख्या थपिने मन्त्रालयको अपेक्षा छ।

यसैबीच, मन्त्री महावीर पुन मन्त्रालयकै कामलाई प्रभावकारी बनाउन सरकारी निवाससमेत मन्त्रालय नजिकै व्यवस्थापन गर्ने तयारीसहित सिंहदरबारमा सरेका छन्।

प्रतिक्रिया