प्रदूषण बढेपछि नयाँदिल्लीमा कृत्रिम वर्षा गराउने तयारी
काठमाडौं- भारतको राजधानी नयाँदिल्लीमा प्रदूषण अत्यधिक बढेपछि कृत्रिम वर्षा गराउन लागिएको छ ।
दिल्ली सरकारले प्रदूषणसँग जुध्नका लागि कृत्रिम वर्षा गराउने प्रयास गरिरहेको दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले बताए । उनले भने, ‘राजधानीमा लगातार बिग्रँदै गएको हावाको गुणस्तरका कारण श्वासप्रश्वासका बिरामी बढेका छन् ।’
जाडोयाम सुरु हुनेबित्तिकै उत्तरी भारत प्रदूषणको चपेटामा पर्छ । चिसो धुलोले भरिएको हावाको तह, सवारीसाधनबाट निस्कने धुवाँ र पजाब-हरियाणाका खेतमा बाल्ने परालको धुवाँले गर्दा सहर प्रदूषित वायुमण्डलले ढाकिन्छ। जसका कारण दिल्ली र वरपरको क्षेत्र विषाक्त कुहिरोमा डुब्न पुग्छ ।
मंगलबार दिल्लीका ३९ वायु प्रदूषण मापक केन्द्रमध्ये एक तिहाइले ४०० भन्दा बढी एक्यूआई रेकर्ड गरिएको छ । वायु प्रदूषणको यो तह स्वस्थ व्यक्तिका लागि हानिकारक मानिन्छ । बिरामीका लागि अझै खतरनाक हुन्छ ।
कृत्रिम वर्षालाई ‘क्लाउड सिडिङ’ भनिन्छ। यसका लागि नुनजस्तो सिल्भर आयोडाइड र क्लोराइड जस्ता लवण बादलमा छर्किइन्छन् । सामान्यतया यो छर्कने विशेष मेसिनबाट हावामा पठाइन्छ ।
यसरी छर्किइएका नुनका सूक्ष्म कणहरूले ‘आइस-न्युक्लिटङ’ कणहरू जस्तै काम गर्छन् । जसका कारण बरफको क्रिस्टल बादलमा परिणत हुन थाल्छ । यसपछि बादलमा रहेको आर्द्रताले बरफको क्रिस्टललाई घेर्छ र तिनीहरूलाई गाढा बनाउँछ र वर्षामा परिणत गर्छ ।