‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ‘हनी ट्रयापिङ’को गिरोहमा !


काठमाडौं-  ‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीकाे ना फेरि चर्चामा आएकाे छ । कञ्चनपुरमा कार्यरत हुँदा विवादै विवादमा आएकी उनको नाम अहिले ‘हनी ट्रयापिङ’को गिरोहमा संलग्न रहेकाे कुराे बाहिर आएकाे हाे ।

हाल भैंसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ । जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ । मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागकाे थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्राेतले बताएकाे छ ।

स्राेतका अनुसार  असोज ७  गते  केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु हन्छ ।  युवतीले ६० लाख रुपैयाँ माग्छिन्  तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ  । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको ललितपुर परिसरका एक अधिकृतले बताए  ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । साे कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यसमा भैँसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत छानबिन अघि बढाइएको छ ।

उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । इन्सपेक्टर शाहीले आचरण विपरीत काम गरेको आधारमा छानबिन थालिएको र कारबाही गरिने ललितपुर प्रहरीले जनाएको छ । घटनाका  योजनाकार फरार छन् ।

बिनुका पूराना विवाद 

बिनु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो । पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन् । त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो ।

त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो । गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो । उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो ।  सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन । तर,  बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो ।

 

 

प्रतिक्रिया