‘विवादित’ इन्स्पेक्टर बिनुकुमारीको जिम्मेवारी खोसियो


काठमाडौैं-  ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले  जानकारी दिए ।

इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ । बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको आरोप उनीमाथि छ । जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ । मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागकाे थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्राेतले बताएकाे छ ।

स्राेतका अनुसार  असोज ७  गते  केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु हन्छ ।  युवतीले ६० लाख रुपैयाँ माग्छिन्  तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ  । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको ललितपुर परिसरका एक अधिकृतले बताए  ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । साे कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।  इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत छानबिन अघि बढाइएको छ ।  ।

प्रतिक्रिया