इन्स्पेक्टर बिनुकुमारी जोडिएको भैंसेपाटी ‘हनी ट्रयाप’ प्रकरणमा पस्यो सीआईबी
काठमाडाैं- ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनाको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्न थालेकाे छ । नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो ।
‘हनी ट्रयाप’ प्रकरणमा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल पनि झिकाएर अनुसन्धान सुरु भएको सीआईबीका प्रमुख एआईजी दिपक थापाले बताए । उनका अनुसार प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान हुनेछ ।
ताजकाे समूहले ललितपुरका एक व्यवसायीबाट असोज ६ गते बलात्कार मुद्दामा फसाउने भन्दै भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन प्रहरी प्रमुख निरीक्षक बिनुकुमारी शाहीलाई नै प्रभावमा पारेर ३० लाख रुपैयाँ असुल गरेका थिए ।
प्रहरी निरीक्षक शाहीमाथि अनुसन्धान गर्न समेत जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरिसकेको छ । घटनालगत्तै प्रहरी प्रधान कार्यालयले शाहीलाई रानीपोखरी तानेर निलम्बन गरेको थियो । हाल उनी फरार छन् ।
प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन । फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन् ।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन्। सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरु थिए ।
साे समूहले युवतीहरूलाई प्रयोग गर्ने र बलात्कारको उजुरी दिने भन्दै युवाबाट माेटो रकम असुल गर्ने गरेको खुलेको छ ।