प्रहरीका एसपी र डिएसपीको सरुवामा आर्थिक चलखेल, निमित्त आईजीको कार्यकक्षमा उजुरीका चाङ


काठमाडाैं- यतिबेला प्रहरी महानिरीक्षक(आइजी) वसन्त कुँवर ग्रिस भ्रमणमा छन् । उनी ग्रीसको एथेन्समा आयोजित इन्टरनेसनल ड्रग्स इन्फोर्समेन्ट कन्फरेन्समा भाग लिन गएका हुन् । कुँवर नभएका बखत एआइजी टेकप्रसाद राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

उनी निमित्त भएकै बेला प्रहरी प्रधान कार्यालयले मंगलबार ४१ प्रहरी उपरीक्षक(एसपी) र १४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्ला र कार्यालयका कार्यालय प्रमुख फेरिएका छन् । भने, १२ जिल्लाका एसपी फेरिएका छन् ।

अहिले ती सरुवामा ठूलो आर्थिक चलखेल भएको आशंका उब्जिएको छ । मानव स्रोत विभागका प्रमुख तथा एआईजी भीमप्रसाद ढकालले निमित्त महानिरीक्षक राईको अनुमति नलिएरै आर्थिक चलखेलमा सरुवा सूची निकालेको बताइन थालेको छ । यसमा प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एसपी अर्जुनप्रसाद तिमिल्सिनाको पनि हात रहेको स्रोतले बताएको छ ।

आफ्नो कार्यकालको उत्तरार्धमा रहेका ढकालले जानेबेला ठूलै रकम जम्मा गरेको र कर्मचारी प्रशासनबाट धादिङ जान इच्छा व्यक्त गरेका तिमिल्सिना पनि आम्दानी गरेर दाङ गएको स्रोतको दाबी छ ।

दुवैले आर्थिक चलखेल गरेर सरुवा निकाल्दा निमित्त महानिरीक्षक राई भने असन्तुष्ट बनेका छन् । आफूलाई जानकारी नदिएर महानिरीक्षकको अनुपस्थितिमा मानव स्रोत विकास विभागले सरुवाको सूची निकालेपछि उनले आईजी स्वेदश फिर्ता नहुन्जेलसम्म सरुवा नगर्न भनेका छन् ।

आर्थिक चलखेल गरेर आफ्नालाई ‘मालदार’ जिल्लामा पठाइएपछि अहिले प्रहरी प्रधान कार्यालय(हेडक्वार्टर) मा सरुवाकाविरुद्ध थुप्रै उजुरी परेको स्रोत बताउँछ ।

आफूलाई सम्बोधन गरेर धमाधम उजुरी पर्न थालेपछि निमित्त आइजी टेकप्रसाद राईले मानव स्रोत विभाग र कर्मचारी प्रशासन शाखामा उजुरीबारे जानकारी गराइसकेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार राईले उजुरीका बारेमा विभाग र शाखामा सोधपुछ गरिरहेका छन् ।

प्रतिक्रिया