‘विवादित’ इन्स्पेक्टर बिनुलाई निलम्बन गर्न पठाइएको पत्र गृह मन्त्रालयमा


काठमाडाैं- बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा मिलेमतो गरेकाे प्रकरणमा  ललितपुरको प्रहरी प्रभाग भैँसेपाटीकी ‘विवादित’ इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि पठाइएको पत्र गृह मन्त्रालयमा पुगेको छ ।

छानबिनका क्रममा उनले आपराधिक समूहलाई सहयोग गरेको भेटिएपछि निलम्बन प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् । उनले आजै निलम्बनको पत्र गृह मन्त्रालयमा पठाइएको जानकारी दिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले प्रारम्भिक छानबिन प्रतिवेदनबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराइसकेको छ । जसअनुसार यसमा इन्स्पेक्टरलगायतविरुद्ध मुद्दा चलाउनुपर्ने प्रस्ट आधार तय भइसकेको छ । उक्त प्रकरण डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले छानबिन गरेका थिए ।

उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ । मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको बताइएको छ ।

असोज ७ गते केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले इटहरीका एक व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन्  । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु हन्छ । युवतीले ६० लाख रुपैयाँ माग्छिन्  तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ  । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको ललितपुर परिसरका एक अधिकृतले बताए  ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । सो कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

शाहीका विरुद्ध समाचार लेख्ने मिडियालाई अज्ञात कल
यसैबीच यो प्रकरणमा समाचार लेख्ने मिडियालाई अज्ञात व्यक्तिमार्फत् फोन सम्पर्क गर्न लगाएर धम्कीको भाषा प्रयोग गर्ने काम समेत उनीबाट हुँदै आएको छ ।

यो विषयमा पनि अनुसन्धान हुने एआइजी किरण बज्राचार्यले बताएकी छिन् ।

प्रतिक्रिया