गृह मन्त्रालयमा मन्त्रीपत्नी हाबी, ‘विवादित’ इन्स्पेक्टरलाई जोगाउन दबाब

हार मान्दैन भन्ने गुहार माग्दै


काठमाडाैं- यही असोज १२ गतेदेखि आएको बाढी–पहिरोले देश आक्रान्त छ । हालसम्म उक्त प्रकोपबाट २ सय ३९ जनाको मृत्यु भएको छ । भने, घटनामा परी १९ जना बेपत्ता छन् भने एक सय ७७ जना घाइते भएका छन् । देशले ठूलो मानविय, आर्थिक र भौतिक क्षति बेहोर्नुपरेका बेला देशका गृहमन्त्रालय राहत, उद्धारमा सक्रिय हुनुपर्ने हो ।

उनका परिवारका सदस्यले पनि उद्धार तथा खोजमा गृहमन्त्रालय हाँकिरहेका रमेश लेखकलाई दबाब दिनुपर्ने हो । तर, यहाँ ठिक उल्टो परिदृश्य देखा परिरहेको छ । गहृमन्त्री लेखककी पत्नी यशोदा लेखक भने एक ‘विवादित’ छविकी प्रहरी अधिकृत बताउन जोडबल गरिरहेकी छन् । ती ‘विवाद क्विन’ इन्स्पेक्टर हुन् बिनुकुमारी शाही । उनको नाम अहिले ‘हनि ट्रयापिङ’मा जोडिएको छ ।

बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिससमेत गरिएको छ । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोखिएकोमा प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको छ ।

जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ । मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको बताइएको छ ।

असोज ७ गते केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले इटहरीका एक व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन्  । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु हन्छ । युवतीले ६० लाख रुपैयाँ माग्छिन्  तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ  । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको ललितपुर परिसरका एक अधिकृतले बताए  ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । सो कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत छानबिन अघि बढाइएको छ ।

छानविनका संलग्न एक अधिकारीका अनुसार उनले सुरूमा बलात्कार भनेर तर्साउँदै पैसा उठाउने नियतले कुटपिटको उजुरी गर्न लगाएको देखिएकाे छ । पछि आफूले मिलाई दिने भनेर शाहीले  पैसा हाल्न लगाएको भन्ने खुलेकाे पनि उनले बताए ।

‘हनी ट्रयापिङ’ गिरोहसँग ‘पार्टनरसीप’
भैसीँपाटी प्रकरणमा हाल प्रहरीले सुनसरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापालाई पक्राउ गरेर अनुसन्धान गरिहरहेको छ । सोही गिरोहका केही व्यक्ति भने फरार छन् । उनीहरुले सुरुमा इटहरी प्रहरीमै ‘हनी ट्रयापिङ’मा फसाने प्रयास गरेका थिए । तर, त्यहाँको प्रहरीले नमानेपछि उनीहरूले भैँसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीसँग ‘पार्टनरसीप’ गरेर पैसा असुल्ने योजना बनाएका थिए ।

उक्त प्रकरणको अनुसन्धान गर्दा त्योे गिरोहले अरू धेरैजनालाई यसैगरी प्रहरीसमेतको मिलेमतोमा तर्साएर पैसा असुल्ने गरेको फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । सो गिरोहले यसअघि दरबारमार्गमा पनि एकजनाविरुद्ध उजुरी दिएरपछि १६ लाख लिएको भन्ने खुलेको छ । हाल उक्त प्रकरण डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

‘हार मान्दैन भन्ने’ शाही गुहार माग्दै
आफूमाथि छानविन सुरु भइसकेपछि ‘विवादित’ इन्स्पेक्टर बिनुकुमारी शाहीले केहीदिन अघि आफ्नो सामाजिक सञ्जालको स्टोरीमा ‘हार त मान्दै मान्दैन म, जीन्दगीले पनि भनोस् न कस्तो जिद्दी मान्छेसँग भिड्न पुगेछ’ लेखिएको ट्याम्प्लेट सेयर गरेकी थिइन् । तर, हार मान्दैन भन्दै हिँड्ने उनी गृहमन्त्री रमेश लेखककी पत्नी यशोदाको शरणमा पुगेको स्रोतले बताएको छ ।

पहिलो पोष्टिङ गृहमन्त्रीकै गृह जिल्ला कञ्चनपुरमा परेर विवादको दलदलमा फसेकी शाहीले आफू महिला भएकाले महिलाले बचाइदिनुपर्ने भन्दै यशोदासामू हारगुहार गरेको स्रोत बताउँछ । उनले आफ्नो जान लागेको जागिर बचाइदिन भन्दै यशोदासामू याचना गरेको स्रोतले बताएको छ ।

शाहीले आफूमाथिको कारबाही रोकिदिन भन्दै मन्त्री पत्नी यशोदासहित पीए जनक भट्टलाई पनि विन्ती गरेको बुझिएको छ । अनुसन्धानपछि आफू थुनिने डरले उनी यसैगरी एक प्रहरीका एसपीसामू पनि गिडगिडाएकी थिइन् ।

सुरुदेखि नै सामाचार हेडिङमा छाएकी शाही
प्रहरी प्रभाग, भैंसेपाटी आउनूपूर्व पनि बिनुकुमारी शाहीको विगत धूमिल छ । २०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी उनी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन् । पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन् । त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो ।

त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो । गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो । त्यस्तै प्रकारमा विवादमा आइरहने हुँदा उनी बेलाबेला समाचारका हेडिङमा छाइरहन्छिन् । उनीबारे कागजपत्रले पनि निरन्तर समाचार सम्प्रेष्ण गरेको थियो ।

शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो । तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो ।

 

प्रतिक्रिया