‘हनिट्रयापिङ’मा संलग्न इन्स्पेक्टर बिनुकुमारीलाई निलम्बन गर्न सिफारिस


काठमाडौं- बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस पनि गरिएको छ । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोखिएकोमा प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको हो ।

ललितपुर प्रहरीले उनलाई निलम्बनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेकोमा रानीपोखरीले हेडक्वार्टर नक्साल सिफारिस गरेको छ। अब हेडक्वार्टरले गृह मन्त्रालयलाई सिफारिस गर्ने छ ।

गृहले निलम्बन गरेपछि बिनुकुमारी यो घटना छानबिन अवधिभर निलम्बनमा पर्नेछिन् भने आरोप पुष्टि भएको अवस्थामा मुद्दा नै लाग्ने छ ।

उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ ।

इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ । बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको आरोप उनीमाथि छ । जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ । मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागकाे थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्राेतले बताएकाे छ ।

स्राेतका अनुसार  असोज ७  गते  केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु हन्छ ।  युवतीले ६० लाख रुपैयाँ माग्छिन्  तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ  । लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनले देखाएको ललितपुर परिसरका एक अधिकृतले बताए  ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । साे कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

यो घटनामा संलग्न युवतीसहित एक युककलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।

प्रतिक्रिया