

इन्जिनियरिङमै विद्यार्थीको हाहाकार, १९२ सिटमा ५ जनामात्र भर्ना !

काठमाडौं – नेपालका युवापुस्तामा पछिल्लो समय पहिलो प्राथमिकताका रुपमा रहेको प्राविधिक शिक्षामा पनि निराशाजनक उत्साह देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी अभावका कारण कतिपय विभागहरु बन्द गर्नुपर्ने अवस्था आएसँगै जुन विषयमा स्नातक पास भएको भएपनि स्नातकोत्तर पढ्ने पाउने नियम बनायो । जसको मुख्य कारण भनेको विद्यार्थी अभाव नै हो ।
शिक्षा, मानविकी, व्यवस्थापनलगायतका संकायमा विद्यार्थी अभाव भएको समाचार पढिरहेका हामीले पछिल्लो समय प्राविधिक शिक्षा मानिने इन्जिनियरिङ विषय अध्ययनका लागि गरिको भर्ना दरमा पनि कहालीलाग्दो तथ्यांक देखिएको छ ।
कहाँ कति विद्यार्थी भर्ना भए र कति बाँकी छ ?
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ विभागको स्नातकका लागि कुनै पनि क्याम्पसहरुमा पूरा विद्यार्थी भर्ना भएका छैनन् । इन्जिनियरिङका लागि ४ हजार ३ सय ४४ कोटा छुट्याएको त्रिविका क्याम्पसहरुमा समाचार तयार गर्दासम्मको समयमा जम्मा २ हजार २ सय ५ जना विद्यार्थी भर्ना भएका छन् भने अझै २ हजार १ सय ३९ विद्यार्थीको कोटा खाली रहेको छ ।
इन्जिनियरिङका लागि सबैभन्दा राम्रो मानिएको पुल्चोक इन्जिनियरिङ क्यापसमा पनि समाचार तयार गर्दासम्मको तथ्यांकमा ७१ जनाको सिट खाली रहेको छ । विभिन्न १६ विषयमा पढाई हुने पुल्चोकमा ६२४ जना विद्यार्थीको कोटा रहेकोमा अहिलेसम्म ५५३ विद्यार्थी भर्ना भएका छन् भने ७१ जनाको सिट अझै खाली रहेको छ ।
विद्यार्थी भर्ना दरमा सबैभन्दा संकटमा रहेको छ – जनकपुर इन्जिनियरिङ क्याम्पस । १९२ जनाको सिट रहेको जनकपुर इन्जिनियरिङ क्याम्पसमा अहिलेसम्म जम्मा ५ जनामात्र भर्ना भएका छन् । उक्त क्याम्पसमा १८७ जनाको सिट अझै पनि खाली नै रहेको छ ।
त्यस्तै थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि ४३२ जनाको कोटा रहेकोमा २४८ जनामात्र भर्ना भएका छन् ।
त्यस्तै ३८४ सिट रहेको काठमाडौं इन्जिनियरिङ कलेजमा १२४ जनामात्र भर्ना भएका छन् । सो क्याम्पसमा मात्र अझै पनि २६० जना विद्यार्थीको कोटा खाली रहेको छ ।
त्यस्तै २८८ सिट रहेको कान्तिपुर इन्जिनियरिङ कलेजमा जम्मा ३० जना भर्ना भएका छन् भने १४४ सिट रहेको सगरमाथा इन्जिनियरिङ क्याम्पसमा २६ जनामात्र विद्यार्थी भर्ना भएका छन् ।
सबैभन्दा धेरै विद्यार्थी भर्ना भने संख्याको हिसाबले पुल्चोकमै भएका छन् भने त्यसपछि पूर्वाञ्चल क्याम्पसमा भएका छन् । ५२८ जनाको कोटा रहेको पूर्वाञ्चालमा ३६८ जना विद्यार्थी भर्ना हुँदा अझै १६० जनाको संख्या खाली रहेको छ । उपत्यकाकै अर्को कलेज ललितपुर इन्जिनियरिङ क्याम्पसमा ९६ सिटमध्ये ८२ सिट खाली रहेको छ । उक्त कलेजमा जम्मा १४ जना विद्यार्थी भर्ना भएका छन् ।
त्यस्तै सबैभन्दा कम कोटा रहेको चितवन इन्जिनियरिङ क्याम्पसमा पनि ५ जना विद्यार्थी अझै पुगेका छैनन् । २४ सिट रहेको उक्त क्याम्पसमा अहिलेसम्म १९ जना भर्ना भएका छन् ।
प्रायः क्याम्पसहरूले पहिलो सूचीका रूपमा भन्दै नाम प्रकाशित गरिसके पनि विद्यार्थी भर्ना नभएपछि दोस्रो सूची प्रकाशित गरिसकेका छन् भने कतिले गर्ने तयारीमा रहेका छन् ।
सरकारी क्याम्पसमा पनि कोटाभन्दा ज्यादै कम विद्यार्थी भर्ना हुनु नेपालको शिक्षाप्रति विद्यार्थीहरु उदासीन हुनु मात्र नभई देशको वर्तमान अवस्था पनि प्रमुख कारण हो ।
अधिकांश विद्यार्थीहरुको मानसिकता विदेश अध्ययनका लागि बन्दै जानुनै नेपालमा विद्यार्थीको अभाव हुनु हो । कतिपय अध्ययनका लागि जाने गरेका छन् भने कतिपय मुलुकमा बढ्दै गएको आर्थिक संकट, बेरोजगारी समस्या र दैनिक जिवनयापनकै लागि भोग्नुपर्ने समस्याले गर्दा पढाईलाई अगाडि बढाउन सकेका छैनन् ।
त्यस्तै इन्जिनियरिङ क्याम्पसका लागि विद्यार्थी अभाव हुने अर्को मुख्य कारण महंगो शुल्क पनि एक हो ।
देशको पछिल्लो परिवेशमा हातमुख जोड्न समस्या भोगिरहेका अभिभावकले महंगो शुल्कमा इन्जिनियरिङ पढाउने सपना त्यागेका छन् । सरकारी कलेज वा छात्रवृत्तिमा नाम निकाल्न नसक्ने विद्यार्थीहरुले ८ सेमेटष्टरको इन्जिनियरिङका लागि १५/१६ लाख रुपैयाँ लगानी कहाँबाट गर्ने भन्ने पनि अर्को समस्या हो ।
त्यसैले कतिपय विद्यार्थीहरुले त्यति लगानी गरेर विदेश अध्ययनका लागि गएको खण्डमा भविष्य पनि सुनिश्चित हुने र गुणस्तरीय शिक्षा पनि लिन सकिने भएकै कारणले नेपालका क्याम्पसहरुमा विद्यार्थीहरुको अभाव भएको हो ।

