

विचाराधीन मुद्दाबारे अभिव्यक्ति नदिन गगन थापालाई सर्वोच्चको निर्देशन

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति नदिन आदेश दिएको छ। थापाविरुद्ध परेको अवहेलना सम्बन्धी निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो।
आदेशमा सर्वोच्चले न्याय सम्पादनको प्रक्रियाको संवेदनशीलतालाई ध्यानमा राख्दै विचाराधीन मुद्दामा कुनै अभिव्यक्ति नदिन र नगराउन निर्देशन दिएको छ। सर्वोच्चको आदेशमा भनिएको छ, “अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलतालाई विचार गरी कुनै प्रतिकूल असर पर्ने अभिव्यक्ति दिने कार्य नगर्नू, नगराउनू।”
सर्वोच्चले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने उल्लेख गर्दै विचाराधीन मुद्दामा संघीय संसद्का सदनहरूमा समेत छलफल नगरिने संवैधानिक व्यवस्था रहेको स्मरण गराएको छ। अदालतले अन्यत्र दिने अभिव्यक्तिहरूमा समेत विशेष संवेदनशीलता अपनाउनुपर्ने भन्दै आदेशमा स्पष्ट पारेको छ।
महामन्त्री थापाले केही दिनअघि “५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापाविरुद्ध अदालतको अवहेलनाको आरोप लगाउँदै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए।

