सरकारी गाडी चलाएर दुर्घटना गराउने अधिकृत पक्राउ, लाइसेन्स नभएको खुलासा


दाङ— सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना सरकारी गाडी चलाएकी तुलसीपुर उपमहानगरपालिकाकी अधिकृत रेवा रावतले स्कुटरलाई ठक्कर दिँदा बालिका सहित दुई जना घाइते भएका छन्।

आज बिहान तुलसीपुर–६ सुकौरा रोडस्थित पानी ट्याङ्की नजिक रा १ झ १४२ नम्बरको उपमहानगरको गाडीले प्र.२००१ प १६७९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक शंकर रेग्मी (४२) र उनकी नातिनी, ४ वर्षीया प्रिन्स बुढाथोकी घाइते भएका छन्।
प्रहरीका अनुसार रेग्मीको खुट्टा र बालिकाको टाउको, छाती, मुख र निधारमा चोट लागेको छ। दुवैको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि अधिकृत रावत घटनास्थलबाट भागेकी थिइन्। सुरुमा चालकले गाडी चलाएको भ्रम फैलाउने प्रयास गरिएको थियो। तर प्रत्यक्षदर्शी स्थानीयले उनी आफैँले गाडी चलाएको पुष्टि गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो।

प्रहरी अनुसन्धानमा रावतसँग सवारी चालक अनुमतिपत्र नरहेको पाइएको छ। उनी गाडी सिक्ने क्रममा सरकारी गाडी चलाइरहेकी थिइन्। साथमा चालक भए पनि रावत आफैं स्टेयरिङमा रहेको अवस्थामा दुर्घटना भएको जनाइएको छ।

 

प्रतिक्रिया