एमबीबीएस सिट वृद्धि प्रक्रियाप्रति डा. गोविन्द केसीको आपत्ति, अनशनको चेतावनी


काठमाडौं – चिकित्सा शिक्षा सुधार अभियानका अगुवा प्रा. डा. गोविन्द केसीले सरकारले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने तयारी थालेकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले माग सम्बोधन नभए नेपाल फर्किएर पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।

भूकम्प प्रभावितको उपचार गर्न म्यानमार गएका डा. केसीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै एमबीबीएसको सिट १ सयबाट १५० पुर्‍याउने सरकारको तयारीप्रति ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार हालको सिट संख्या एक सिटले पनि नबढाइनु पर्ने र विगतमा सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने आवश्यकता छ।

“एमबीबीएस सिट हालको संख्या भन्दा बढाउन मिल्दैन,” विज्ञप्तिमा भनिएकाे छ, “निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन र पुराना सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्नुपर्छ।”

चिकित्सा शिक्षा आयोगको वैशाख १५ गते सम्पन्न १९औँ बैठकले सिट संख्या र शुल्क वृद्धि गर्न सकिने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले सिट संख्यामा वृद्धि गर्ने प्रक्रिया अगाडि बढाएको हो। शिक्षासचिव डा. दीपक काफ्लेको संयोजकत्वमा गठित कार्यदलले पनि एक सिटको सीमा हटाउने सुझाव दिएको छ।

डा. केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वयनको सुरुवात सशक्त दबाब र सत्याग्रहबाट भएको स्मरण गराउँदै पछिल्लो समय आयोगमा भएको नेतृत्व परिवर्तन र राजनीतिक हस्तक्षेपका कारण ऐन नै कमजोर हुने खतरा रहेको बताएका छन्।

“ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकले आफ्नै घुँडामा बन्चरो हानेका छन्,” भन्दै उनले चेतावनी दिँदै भनेका छन्, “यदि सरकार गम्भीर भएन भने नेपाल फर्केपछि सत्याग्रहमा बस्न बाध्य हुनेछु।”

प्रतिक्रिया