

नेकपा विभाजनमा बामदेव गौतमलाई दोषी देख्नेहरू

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभक्त हुँदै गर्दा दुवै पक्षले सचिवालयमा उपाध्यक्ष स्वीकार गरेका बामदेव गौतमलाई आफूतिर तान्न जोडबल गरेनन्।
गौतमका केही घोषणाहरू र विवादीत बयानबाजी आए जसलाई उनले बेलामौका खण्डन पनि गरेका थिए। अहिले नेकपा एकता अभियान चलाएका उनले विभक्त भएको बखत दुवै पक्षलाई मिलाउनका लागि आफूलाई अध्यक्षमा स्वीकार गर्नुपर्ने बयानबाजी विवरणमा आयो।
सतहमा यस्तो विवरण आएपछि गौमतको आलोचना भयो र त्यसपछि उनले यस विषयको खण्डन गरेका थिए। त्यसअघि नेकपाको आन्तरिक विवाद चलिरहेका बेला गौतमले प्रधानमन्त्रीमा आफूलाई उभ्याएका थिए।
सचिवालयका कतिपय बैठकमा उनले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्नेगरी संविधान संशोधनको प्रस्ताव राखेका थिए। यहि विवादका क्रममा नेकवा विभक्त हुने चरणमा पुग्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए र सोही क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव नै दर्ता गराए।
यसपछि दोस्रो र तेस्रो तहका नेता पनि विभक्त भएका समूहमा आवद्ध भए। तर गौतमलाई आफ्नो पक्षमा ल्याउनुपर्छ भन्ने मान्यतामा कोही उभिएनन् बरु आलोचना गर्न थाले।
‘प्रधानमन्त्री बन्ने लोभ र लालचमा कहिले प्रचण्ड त कहिले ओलीको कित्तामा उभिने बामदेवका कारण नै अहिलेको अवस्था आएको हो, यस्ता मानिसलाई साथै लिएर नेकपाको यात्रा हुन सक्तैन’, प्रचण्ड माधव नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले अन्तरवार्ताका दौरान भनेकी थिइन्,‘बामदेव गौतमको स्वार्थ र महत्वकांक्षाले पनि नेकपा विभाजनको विन्दुमा पुगेको हो, उनको स्वार्थमा ओलीको अहंकार बढ्यो।’
उनले त सचिवालयमा कहिले प्रचण्डतिर बहुमत पुराउने र कहिले ओलीतिर ढल्किने गौतमको चरित्र पनि विभाजनका लागि मुख्य दोषका रुपमा खुट्याएकी छन्।
नेकपा विभाजनमा गौतमलाई दोषी देख्नेहरू ओली र प्रचण्ड पक्षमा धेरै नेताहरू छन् तर उनीहरू खुलेका छैनन्। शीर्ष तहका नेतृत्वले पनि उनको चर्को आलोचना गरेका छैनन् तर गौतमको प्रयास सफल नहुने दाबी गरिरहेका छन्। यसको अर्थ हो, गौतमलाई उनीहरूले सिरियस लिएका नै छैनन्।
प्रतिनिधि सभा पुनःस्थापना भएपछि गौतमले प्रचण्ड र प्रधानमन्त्री ओलीसँग भेटवार्ता त गरेका छन्। तर त्यसको प्रतिफल कस्तो आउने हो भन्नेचाहिँ खुलीसकेको छैन।
गौतम नेकपा विभाजनका एक मुख्य दोषी रहेको मान्छन् कतै पनि नखुलेका नेकपा नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित। उनले भनेका छन्,‘उहाँको चरित्र नै ढुलमुले देखियो, बनाउने भन्दा पनि विगार्नेतिर उहाँ अग्रसर देखिनुभयो।’
नेकपा विवादको चरम उत्कर्ष र त्यसका क्षणिक बैठान पनि गौतमका कारण भएका अनेक उदाहरण छन्। सचिवालय बैठकमा कठोर विवाद रहेका बेला गत वैशाखपछि गौतमको ६ बुँदे प्रस्तावले केही दिन मत्थर बनाएको थियो। तर पछि सचिवालयमा बहुमत पुग्नेगरी प्रचण्ड–नेपाल पक्षमा उनी खुले र अहिलेको अवस्था आएको धेरैको ठहर छ। ‘गौतम सचिवालयमा त्यसबेला ओलीविरूद्धको १९ बुँदे प्रस्तावको हस्ताक्षरकर्ता नभएको भए प्रचण्डलाई कठिन हुने थियो’, ओलीनिकट एक नेता भन्छन्,‘विवाद र विचार मन्थन चलिरहने थियो। तर गौतमका कारण नै आरोपपत्र दायर भयो र त्यसले नेकपाको अहिलेको अवस्था आयो।’

