इजरायलका लागि श्रम स्वीकृति स्थगित, बिदामा स्वदेश फर्केकाहरू चिन्तित


इजरायलबाट दशैँ मनाउन नेपाल आएकी ललितपुरकी ललिता विष्ट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर इजरायल जाने नेपालीका सम्बन्धमा सरकारले गरेको निर्णयका कारण अन्योलमा परेकी छन्।

सरकारी निर्णयका कारण आफू दशैँको बेला पनि रमाउन नसकेको उनी बताउँछिन्।

डेढ दशकदेखि इजरायलको जेरुसलेममा केअरगिभरको रूपमा कार्यरत विष्ट इजरायलमाथि हमासको आक्रमण हुनुभन्दा केही दिनअघि मात्र बिदा मिलाएर काठमाण्डू आइपुगेकी थिइन्।

नोभेम्बर अन्तिम साता पुनः इजरायल फर्कनुपर्ने भए पनि सरकारले इजरायल जानेको ‘पुनः श्रम स्वीकृति’ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि आफ्नो रोजगारी गुम्ने हो कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ।

“म १४ वर्षदेखि त्यहाँ काम गरिरहेकी छु। हरेक पटक यता आएपछि पुनः श्रम स्वीकृति लिएर म इजरायल फर्किनुपर्छ,” बीबीसीसँग उनले भनिन्।

“अहिले त्यस्तो इजाजत रोकियो भन्ने थाहा पाएपछि मलाई छटपटी भइरहेको छ।”

“हुन त अझै करिब एक महिनासम्म समय छ तर त्यस बेलासम्म खुलेन भने मेरो रोजगारी मात्रै गुम्दैन, उता (इजरायलमा) जम्मा भएको मेरो सञ्चयकोष र उपदान पनि नपाउने अवस्था बन्न सक्छ।”

उन्नाइस महिनाअघि केअरगिभरकै रूपमा इजरायल गएकी स्याङ्जाकी विष्णु गुरुङ उत्तरी इजरायलको हाइफा सहरमा कार्यरत छिन्।

दशैँ मनाउन नेपाल आएकी उनी नोभेम्बर पहिलो साता नै इजरायल फर्कनुपर्ने छ। तर सरकारको पछिल्लो निर्णयले उनलाई पनि अन्योलमा पारेको छ।

“फर्कन पाइँदैन भन्ने सूचना आयो। अब जान पाइने हो कि होइन भन्ने कुराले सताइरहेको छ। त्यस्तो नभएको भए दशैँ पनि ढुक्कले मनाउन पाइन्थ्यो। त्यो कुरा सम्झेर दशैँ पनि ढुक्कले मनाउन नपाइने भयो,” उनले बीबीसीसँग भनिन्।

यद्यपि आफूले पुनः श्रम स्वीकृतिका लागि कागजपत्र पेस गरिसकेकाले त्यस्तो अनुमति पाउने उनको आशा छ।

अधिकारीहरू भने आफ्ना नागरिकहरूको सुरक्षामा संवेदनशील भएर नै उक्त निर्णय गरिएको बताउँछन्।

किन रोकियो इजरायलका लागि श्रम स्वीकृति

हमासले इजरायलमा अप्रत्याशित आक्रमण गर्दा सयौँ मानिसको मृत्यु भयो। तीमध्ये १० जना नेपाली विद्यार्थी पनि थिए। उक्त घटनापछि नेपालले विमान नै पठाएर २५० भन्दा विद्यार्थीको इजरायलबाट उद्धार गरेको थियो।

मृतकहरूको शव अझै नेपाल ल्याइएको छैन। दशमध्ये पाँचवटा शव इजरेली अधिकारीहरूले नेपाली दूतावासलाई हस्तान्तरण गरेको जनाइएको छ।

हमास र इजरायलबीचको पछिल्लो तनावका कारण नेपालीहरूको समेत ज्यान गएपछि सुरक्षा संवेदनशीलतालाई विचार गरी हाललाई श्रम स्वीकृति नदिने निर्णय गरिएको वैदेशिक रोजगार विभागका अधिकारीहरूले बताएका छन्।

विभागका महानिर्देशक मदन दाहाल भन्छन्, “सुरक्षाका कारणले हामीले हाललाई इजरायलमा सरकार-सरकारबीचको सम्झौता (जीटूजी) र व्यक्तिगत वा संस्थागत तवरले जानेहरूका लागि पनि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै स्थगित गरेका छौँ।”

“यो सधैँका लागि त होइन स्थिति साम्य नहुन्जेलका लागि हो। सुरक्षाको प्रत्याभूति हुनेबित्तिकै हामी यस्ता सेवाहरू पुनः सुरु गरिहाल्छौँ।”

नेपाली नागरिकलाई इजरायल नजान सरकारको आग्रह

सुरक्षाको कारण देखाउँदै सरकारले गत साता जीटूजीमार्फत् इजरायल जानका लागि हवाई टिकट समेत लिइसकेका २४ जना नेपालीको यात्रा पनि रोकिदिएको थियो।

त्यस्तै अध्यागमन विभागले पनि इजरायल जान लागेका नेपालीहरूलाई आफ्नो यात्रा स्थगित गर्न आग्रह गर्दै सूचना निकालेको छ।

विभागले निकालेको सूचनामा लेखिएको छ, “पछिल्ला दिनहरूमा मित्रराष्ट्र इजरायलमा द्वन्द्व कारणले भएको जनधनको क्षतिबारे विदितै छ। उक्त द्वन्द्वमा परी केही नेपाली नागरिकले ज्यान गुमाउनुपरेको तथा त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धारसमेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।”

“तसर्थ विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहनुभएका नेपाली नागरिकलाई यस विषम परिस्थितिमा हाललाई इजरायल भ्रमण स्थगित गर्नुहुन अनुरोधसहित सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।”

अर्को मान्छे राखेर आएका छौँ

इजरायलबाट बिदामा आएका केअरगिभरहरूका अनुसार उनीहरूले आफूले हेरचाह गर्ने व्यक्तिका निम्ति जनशक्ति व्यवस्थापन गरेर आएका छन्।

“म त्यहाँ एक जना हजुरआमाको हेरचाह गर्छु। उहाँका लागि मैले एकजना नेपाली साथीलाई नै सातामा दुई दिन गएर हेरचाह गरिदिने व्यवस्था मिलाएर आएकी छु,” विष्टले भनिन्।

“उहाँहरूलाई हामीले आफ्नै तलबबाट कटाएर घण्टाको हिसाबले पैसा दिनुपर्छ। अब समयमा जान पाएनौँ भने उहाँहरूलाई पनि अप्ठ्यारो हुन्छ अनि हामीलाई पनि त्यस्तै हुन्छ।”

गुरुङ पनि जानुपर्ने बेलामा जान नसकेमा आफूले धेरै खाले व्यवस्थापकीय कठिनाइ भोग्नुपर्ने हुन सक्ने बताउँछिन्।

“समयमा पुग्न सकिएन भने त गाह्रो भइहाल्छ नि! त्यसैले त मलाई अहिले धेरै तनाव भइरहेको छ,” उनले भनिन्।

“मैले काम गर्ने ठाउँ त सुरक्षित नै छ। सरकारले ‘रिइन्ट्री भिसा’मा जानेलाई त सहज बनाइदिए हुने।”

इजरायल जान कति जनाले पुन: श्रम स्वीकृति लिएका छन्

वैदेशिक रोजगार विभागको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा इजरायल जानका लागि कुल १०८४ जनाले श्रम स्वीकृति लिएका थिए र त्यसमा ७८५ जना महिला थिए।

त्यसमध्ये २९८ जनाले पुनः श्रम स्वीकृति पाएका थिए भने अरूले पहिलो पटक श्रम स्वीकृति लिएका थिए।

भदौमा ५१ जनाले श्रम स्वीकृति लिएकामा ४५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।

इजरायलमा जीटूजीका माध्यमबाट र व्यक्तिगत ढङ्गले श्रम स्वीकृति लिएर पनि नेपालीहरू जाने गरेका छन्।

त्यस्तै म्यानपावर कम्पनीबाट पनि नेपालीहरू इजरायल जाने गरेका छन्।

इजरायलमा कति नेपाली छन्

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरायलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरायलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरायलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरायलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

प्रतिक्रिया