अमेरिकामा एक नेपाली पक्राउ, सामाजिक सञ्जालमा घृणात्मक सामग्री फैलाएको आरोप


काठमाडाैं- सामाजिक सञ्जालको दुरुपयोग गरी समुदायबीच वैमनस्यता फैलाएको आरोपमा नेपाली मूलका मिन गुरुङ अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायले उनलाई मे २१ मा नियन्त्रणमा लिएको हो।

गुरुङ पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत केन्द्रमा राखिएका छन्। उनी लामो समयदेखि टिकटक लगायत विभिन्न डिजिटल प्लेटफर्ममा सक्रिय थिए। जहाँ उनले विशेष गरी नेपाली र भुटानी समुदायलाई लक्षित गरी गालीगलौज, धम्की र घृणायुक्त अभिव्यक्तिहरू सार्वजनिक गर्दै आएको आरोप छ।

उनको यस प्रकारको व्यवहारले सामाजिक सद्भावमा नकारात्मक असर पार्दै आएको भन्दै सम्बन्धित समुदायहरूले लामो समयदेखि विरोध जनाउँदै आएका थिए। यसै आधारमा दर्ता गरिएका उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि उनीमाथि आप्रवासन नियम उल्लंघन, घृणास्पद अभिव्यक्ति र सामाजिक तनाव बढाएको अभियोग लगाइएको हो।

उनी चाँडै आप्रवासन अदालतमा उपस्थित गराइने बताइएको छ। सामाजिक सञ्जालमा उनको गिरफ्तारीसम्बन्धी समाचार फैलिएसँगै धेरै प्रयोगकर्ताले यसबारे समर्थन र आलोचना दुवै अभिव्यक्त गरिरहेका छन्।

 

प्रतिक्रिया