

साउदीमा ४६९ जना नेपाली अलपत्र, कारण यस्तो

साउदी- साउदी अरबको जुबेल सहरमा रहेको सेन्डन इन्टरनेशनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत ४६९ जना नेपाली कामदार अलपत्र परेका छन्। उनीहरूमध्ये धेरैजसोले दुई वर्षभन्दा बढी समयदेखि काम गरिरहेका थिए।
श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार २० दिनअघि पीडितले नेपाली दूतावासमा उद्धारको लागि निवेदन दिएका थिए। दूतावासले कम्पनीसँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाएको छ।
पीडितमध्ये २२६ जना स्वदेश फर्कन चाहन्छन् भने २४३ जना स्थानीय रूपमा अन्य कम्पनीमा काम गर्न इच्छुक छन्। तर साउदी सरकारले हालका लागि बहिर्गमन भिसा प्रक्रिया रोकिएकोले स्वदेश फर्कन समस्या भएको बताइएको छ।
कामदारहरू फेलिसिटी इन्टरनेशनल इम्प्लोयमेन्ट प्रालिमार्फत साउदी गएका थिए। उनीहरू विभिन्न सहरमा छरिएर बसेका छन् र दुई महिनादेखि नौ महिनासम्मको तलब नपाएको गुनासो गरेका छन्।
नेपाली राजदूत डा. नरेशप्रसाद ढकालका अनुसार उद्धारका लागि दूतावास र साउदी निकायसँग समन्वय जारी छ। रियाद सेल्टरमा रहेका थप ११ नेपालीलाई पनि स्वदेश फर्काउन प्रक्रिया अगाडि बढाइएको छ।

