८ महिनादेखि युक्रेनमा दुई नेपाली अलपत्र


काठमाडाैं-  वैदेशिक रोजगारीको सिलसिलामा भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपाली आठ महिनादेखि अलपत्र परेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको सम्पर्कमा आएका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसी युक्रेनी स्थानीय सरकारको नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको छ। उनीहरू सन् २०२४ को जुलाई महिनादेखि कीएभस्थित अध्यागमन कार्यालयमा राखिएका छन्।

राउतका अनुसार ती युवाहरूले आफूहरूलाई सुरक्षित रूपमा उद्धार गर्न संघ र नेपाल सरकारसँग आग्रह गरेका छन्। उनीहरूको उद्धार प्रक्रिया सहज बनाउन परराष्ट्र मन्त्रालय र जर्मनीस्थित नेपाली राजदूत डा. शैल रुपाखेतीलाई औपचारिक अनुरोध गरिएको एनआरएनएले जनाएको छ।

यसैबीच, एनआरएनएका अध्यक्ष डा. बद्री केसीले संघको केन्द्रीय कार्यालयलाई नेपाल सरकारसँग समन्वय गर्दै उद्धार प्रक्रियामा तत्काल सक्रिय हुन निर्देशन दिएका छन्।

यसअघि पनि युक्रेनमा नौ महिनादेखि अलपत्र अवस्थामा रहेका दुई नेपालीको उद्धार गरिएको थियो। तर युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात जना नेपालीको उद्धार कार्य अझै अपुरो छ।

प्रतिक्रिया