अमेरिकाको निर्णयले ७ हजार नेपालीलाई दबाब: अगस्ट ५ भित्र अमेरिका छाड्नुपर्ने


काठमाडौं- अमेरिकी सरकारले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) अन्त्य गर्ने घोषणा गरेपछि झण्डै सात हजार नेपाली आप्रवासी गम्भीर अन्योलमा परेका छन्। अमेरिकी गृह सुरक्षा विभागले बिहीबार साँझ सार्वजनिक गरेको निर्णय अनुसार अब नेपाली टिपिएस धारकहरूले २०२५ अगस्ट ५ भित्र अमेरिका छोड्नुपर्ने वा वैकल्पिक कानुनी बाटो खोज्नुपर्नेछ।

सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपाललाई अस्थायी रूपमा सुरक्षित मुलुक घोषणा गर्दै टिपिएस प्रदान गरिएको थियो। तर अब “नेपालको अवस्था सामान्य भइसकेको” भन्दै अमेरिकाले यो सुविधा समाप्त गर्ने निर्णय लिएको हो।

यो घोषणासँगै अमेरिका बसोबास गर्दै आएका हजारौं नेपालीहरू मानसिक तनावमा छन्। केहीले वैकल्पिक कानुनी बाटो खोज्न थालेका छन् भने धेरैले अमेरिकी अदालतमा यो निर्णयविरुद्ध पुनर्विचारको माग गर्दै मुद्दा हाल्ने तयारी गरिरहेका छन्।

टिपिएस अन्त्यसँगै प्रभावितहरूलाई आगामी जुन २४ भित्र पुनः दर्ता गर्ने छुट दिइएको छ, तर त्यो पनि अगस्ट ५ पछि स्वत: खारेज हुनेछ। अधिकारकर्मीहरू र आप्रवासी विशेषज्ञहरूले अमेरिका अझै नेपाली आप्रवासीका लागि सुरक्षित गन्तव्य बन्न नसकेको जिकिर गर्दै यो निर्णयको आलोचना गरेका छन्।

नेपाली समुदायका संस्था र आप्रवासी वकिलहरूले संयुक्त रूपमा कानुनी सहायता र सचेतना अभियान सुरु गरेका छन्। पारिवारिक स्पोन्सर, छात्र भिसा वा शरण (असाइलम) जस्ता वैकल्पिक उपायहरू खोज्न आग्रह गरिएको छ।

प्रतिक्रिया