

३८ दिनमै विवादको घेरामा आईजी !
शक्तिकेन्द्र रिझाउन आईजी व्यस्त हुँदा राम्रा र अब्बल प्रहरी अधिकृतहरूको भविष्य अन्यौलमा, बढुवामा न्याय गर्न असफल

काठमाडौ – नेपाल प्रहरीमा आईजी नियुक्ति सधैं विवादमा पर्ने गरेको थियो । प्रधानमन्त्री वा गृहमन्त्री जुन दलको छ, उही दल निकट व्यक्तिलाई आईजी बनाइन्थ्यो । यहाँ एउटा कुरा प्रष्ट पार्नैपर्छ– प्रधानमन्त्रीले जसलाई चाह्यो उही नै आईजी बन्ने थिए । आईजी नियुक्तिमा प्रधानमन्त्री सर्वेसर्वा हुन् ।
तर, वर्तमान सरकारका नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बसन्त बहादुर कुँवरलाई ३० औं आईजीमा नियुक्त गरे । पहिले–पहिले आईजी नियुक्तिमा सरकार नै विवादमा तानिएपछि वर्तमान प्रचण्ड नेतृत्वको सरकारले विवादमा नआउनको लागि कुँवरलाई बरियताअनुसार नै आईजी बनाएको हो ।
कुँवर आईजी हुँदै गर्दा कसैलाई केही भन्ने बाटो थिएन र भएन । ब्याचमेटहरुले समेत सहर्ष रुपमा कुँवरलाई आईजी स्वीकारेर सकारात्मक सन्देश दिए । त्यसैले आईजी कुँवरले आफ्नो कार्यकालमा स्वच्छ, निष्पक्ष र पारदर्शीता ढंगले संगठनभित्रको गतिविधि (सरुवा/बढुवा) गर्ने अधिकांश प्रहरी अधिकृतहरुको विश्वास थियो ।
तर, प्रहरी नेतृत्वको कमाण्ड सम्हालेका एक महिनामै आईजी कुँवर विवादित बन्न पुगेका छन् । प्रहरी संगठनका बहालवाला प्रहरी अधिकृतहरुले खुलेआम चुनौती दिएर चर्को आलोचना गरिरहेका छन् । आईजी कुँवर निरिह बनेको आरोप लगाइरहेका छन् । त्यसैले आईजी कुँवरको कमाण्डिङ क्षमतामाथि नै प्रश्न उब्जिएको छ ।
गत शुक्रबार १८ जना प्रहरी उपरीक्षक (एसपी) बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भए । जसमा आईजी कुँवरले अडान लिन नसक्दा काबिल प्रहरी अफिसरहरु बढुवा सूचीमा अटाउन सकेनन् भने कमजोर कमाण्डिङ क्षमता भएकाले बाजी मारे । जसले गर्दा आईजी कुँवरको चर्को आलोचना भएको हो ।
सार्वजनिक रुपमै चुनौती दिँदै बहालवाला एसपी नान्तिराज गुरुङले प्रहरी नेतृत्वलाई कार्य सम्पादन विवरणको फारम सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले भने, ‘बढुवा भएका व्यक्तिको र मेरो कार्य सम्पादन फारामको विवरण सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती नै दिन्छु ।’
एसपी आभुषण तिम्सिनाले त बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै राजीनामा नै दिए । १८ जना एसपी एसएसपीमा बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको भन्दै उनले राजीनामा दिएका हुन् । आइतबार प्रहरी हेडक्वार्टरमा पुगेर राजीनामा बुझाएको तिम्सिनाले पुष्टि गरे ।
यसअघि धिरज प्रताप सिंह आईजी हुँदा बढुवामा असन्तुष्टि जनाउँदै कसैले पनि राजीनामा दिएका थिएनन् । तर, आईजी कुँवरले संगठनको नेतृत्व सम्हालेको छोटो समयमै प्रहरी अधिकृतहरुले असन्तुष्टि जनाउँदै राजीनमा दिन थालेपछि कुँवरको वास्तविक परिचय बाहिरिएको छ ।
‘आफैं अन्यायमा परेको भावनाले पीडित व्यक्तिको रूपमा कसरी नागरिकका हक–अधिकारको संरक्षण गर्न सक्छु र कसरी देशप्रतिको प्रगाढ आस्थालाई जीवन्त राख्न सक्छु भनेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गिने निर्णय गरेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।
‘आफू अन्यायको सिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा रहँदा भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर आम नेपाली नागरिकलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरो बोधपश्चात मैले संगठनमा रहिरहनु उचित मानिनँ ।’
३ असार २०५६ मा प्रकाशित प्रहरी निरीक्षक (इन्स्पेक्टर) छनौटको सूचीमा सर्वोत्कृष्ट अंक ल्याई एक नम्बरमा भर्ना भएका एसपी तिम्सिना त्यसपछिका बढुवा र जिम्मेवारीमा पछाडि पारिँदै आएका अधिकृत हुन् । २९ जेठ ०७५ मा प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपी र २३ पुस ०६७ मा इन्स्पेक्टरबाट डिएसपी बढुवा भएका थिए ।
पहिलाको नेतृत्वले इगो साँधेर पछाडि पारेपनि वर्तमान आईजी कुँवरले न्याय दिनेमा उनी विश्वस्त थिए । तिम्सिना संगठनभित्र अब्बल प्रहरी अधिकृतको रुपमा चिनिएकोमा आईजी कुँवर राम्रैसँग जानकार थिए । तर, राजनीतिक दबाब थेग्न नसक्दा कुँवरले उनलाई सूचीमा समावेश गर्न सकेनन् । यहिँबाट प्रष्ट हुन्छ कि आईजी कुँवर पहिलाकै नेतृत्वको बाटोमा छन् ।
यस्तै सार्वजनिक रुपमै चुनौती दिँदै बहालवाला एसपी नान्तिराज गुरुङले प्रहरी नेतृत्वलाई कार्य सम्पादन विवरणको फारम सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले भने, ‘बढुवा भएका व्यक्तिको र मेरो कार्य सम्पादन फारामको विवरण सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती नै दिन्छु ।’
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी गुरुङले ब्याचीहरू बढुवामा पर्दा आफ्नो नाम नियतवश छुटाइएको उनको दाबी छ । कार्यसम्पादन मूल्यांकनको आधारमा सिफारिस गरेको भनिएपनि निष्पक्ष र स्वच्छरूपमा नभएको गुरुङले बताए । ‘त्यसैले आफ्नो र सूचीमा रहेकाहरूको कासमु सार्वजनिक गर्न नेतृत्वलाई चुनौती दिन्छु,’ उनले भने ।
२०७६ माघमा शक्ति केन्द्रबीच तानातानले जिल्ला प्रहरी कार्यालय, चितवन जान प्रहरी अधिकारीहरू पछि हटिरहेका बेला गुरुङ अघि सरेर सफलतापूर्वक कमाण्ड सम्हालेका थिए । त्यसताका यो विषयले मिडियामा चर्चासमेत पाएको थियो ।
त्यस्तै एसपीद्वय रवि पौडेल र बसन्त रजौरे समेत बढुवामा छुटे । एसपी पौडेल संगठनमा इमान्दार र सोझो अधिकृतको रुपमा चिनिएका छन् । बढुवामा सिरियल नम्बर १ देखि १७ सम्म सबैजना बढुवामा पर्दा १५ नम्बरमा रहेका पौडेललाई आईजी कुँवरले आफैंले छुटाए । बढुवामा नपरेपनि उनले केही प्रतिक्रिया दिएका छैनन् ।
यता रजौरे पनि प्रहरी संगठनभित्र राम्रो छवि बनाएका प्रहरी अधिकृत हुन् । तर, एसपी बढुवामा अन्तिममा रहेको भन्दै आईजी कुँवरले उनलाई बढुवा गर्न चाहेनन् । जसले गर्दा रजौरेलाई समेत कुँवरले अन्याय गरेको देखिन्छ । संगठनभित्र उम्दा र राम्रा प्रहरी अधिकृतलाई छाडेर कुँवर विवादैविवादको भूमरीमा फसेका छन् ।
नेपाल प्रहरीको सरुवा बढुवामा बिचौलियाहरु हावी हुँदा सधै विवाद हुने गरेको छ । यसपटक पनि विचौलियाहरु हावी भएको स्रोत बताउँछ । बढुवामा नेपाली कांग्रेस र माओवादीनिकट व्यक्तिहरु हावी हुँदा आईजी कुँवर निरिह बन्न पुगेका छन् । जसको प्रत्यक्ष असर काबिल प्रहरी अफिसरहरुलाई परेको छ ।
यसअघि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा असन्तुष्टि जनाउँदै एसएसपी चक्र बहादुर सिंहले समेत आईजी कुँवरलाई चुनौती दिएका थिए । अवकाश पाउन एक साता पनि नरहँदा सिंहले प्रहरी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि कुँवरलाई निरिह आईजीको ट्याग भिराइएको थियो ।
प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले २९ चैतमा १३ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध सिंह र अर्का एसएसपी अनुराग द्धिवेदीले प्रधान कार्यालयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका छन् ।
त्यस्तै २८ माघ २०७५ सालमा एसपी नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । काबिल प्रहरी अफिसरको रुपमा चर्चित एसपी उप्रेती त्यतिबेला एसएसपी बढुवाका लागि प्रबल दाबेदार थिए । तर, नाम सिफारिस नभएपछि उनले राजीनामा दिएका हुन् ।
पछिल्ला सरुवा, बढुवामा प्रहरी प्रमुखले बरीयता र कार्यसम्पादनलाई बेवास्ता गर्दै अडान लिन नसकेको र आफन्त, राजनीतिक पहुँचका भरमा निर्णय हुन थालेको भन्दै बहालवाला अधिकारीले खुलेर विरोध जनाउने क्रम बढेको छ । जसको कारण प्रहरी संगठनप्रति वितृष्णा पैदा हुन थालेको छ ।
नेपाल प्रहरीको सरुवा बढुवामा बिचौलियाहरु हावी हुँदा सधै विवाद हुने गरेको छ । यसपटक पनि विचौलियाहरु हावी भएको स्रोत बताउँछ । बढुवामा नेपाली कांग्रेस र माओवादीनिकट व्यक्तिहरु हावी हुँदा आईजी कुँवर निरिह बन्न पुगेका छन् । जसको प्रत्यक्ष असर काबिल प्रहरी अफिसरहरुलाई परेको छ ।
प्रहरी सरुवा–बढुवाको सूची गृह मन्त्रालय र प्रधान कार्यालयमा नभई बिचौलियाबाट फाइनल हुने थाहा पाएपछि प्रहरी अधिकारी पनि आईजी भन्दा बालुवाटारको बिचौलियाको पछि लाग्न थालेका छन् । बिचौलियाहरूले पैसा उठाउने र शक्तिकेन्द्रबाट काम गराउन थालेपछि नेपाल प्रहरी पंगू बनेको आरोप छ ।
प्रहरी नेतृत्वको कमाण्ड सम्हालेका महिना दिनमै आईजी कुँवर राजनीतिक दलका नेताहरुसँग सम्बन्ध विस्तारको लागि व्यस्त हुँदा राम्रा र काबिल प्रहरी अफिसरहरुको भविष्य अन्यौलमा परेको प्रधान कार्यालयभित्र चर्चा छ । जसले गर्दा उनीहरुको काम गर्ने मनोबल समेत घटेको बताइन्छ ।

