


युएई र कोरिया पठाइदिने भन्दै ५ लाख बढी ठगी, दुई जना समातिए

काठमाडौं- वैदेशिक रोजगारीको नाममा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना बुधवार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टोखा नगरपालिका–३ बस्ने, नुवाकोटको म्यागङ गाउँपालिका–१ स्थायी घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौँ महानगरपालिका–३० बस्ने, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ घर भएका ३५ वर्षीय जीवन कडरीया छन्।
तामाङले युएई पठाइदिने भन्दै २ जनाबाट २ लाख ६९ हजार रुपैयाँ लिएको, र कडरीयाले दक्षिण कोरिया पठाइदिने भन्दै ३ जनाबाट ३ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई टोखा–३ बाट र कडरीयालाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

