

पोखरामा घर फोरेर ७० लाखको चोरी, पाँच अभियुक्त पक्राउ

पोखरा- पोखरा महानगरपालिकाका विभिन्न वडामा घरको ताला फोरेर ७० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल चोरी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
कास्की प्रहरीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिका–२६, ३०, ३१ र ३२ नम्बर वडाका विभिन्न घरमा ताला फोरेर चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
गत मंसिर १४ गतेदेखि वैशाख २५ गतेसम्मको अवधिमा नौवटा घरबाट चोरी गरिएको जनाइएको छ। ती घटनामा झण्डै ६९ लाख ३ हजार २६० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चोरी घटनाको सूक्ष्म अनुसन्धानका क्रममा प्रहरीले तनहुँ र स्याङ्जाका पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० का सुवास विक, विमल विक र गणेश सुनार, स्याङ्जा पुतली बजार नगरपालिका–९ का सुरेश विक र पोखरामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुर्गाबहादुर थापा छन्।
पक्राउ परेका सबै अभियुक्त सुवास विकका नातेदार हुन्। सुवास विक यसअघि पनि चोरी अभियोगमा कैद सजाय भोगिसकेका व्यक्ति हुन्।
प्रहरीका अनुसार उनीहरूले पोखराका नौ र तनहुँका तीन स्थानमा चोरी गरेका थिए। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

