प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ?


काठमाडौँ- सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनाव एकैचरणमा गर्ने निर्णय गरेको हो।

चुनावको मिति घोषणासँगै प्रतिनिधिसभाको कार्यकाल कति रहने भन्ने अन्योल कायमै छ। सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले छलफल कायमै रहे पनि कार्यकाल मनोनयन दर्ता गर्ने समयसम्म रहने बताउँछन्।

‘प्रतिनिधिसभाका सदस्यहरूले, सभामुखले र उपसभामुखले आफ्नो निर्वाचनका लागि उम्मेदवारीका लागि मनोनयन दर्ता गर्नुहुन्छ त्यो दिनमात्रै कार्यकाल सकिन्छ भन्ने हाम्रो बुझाइ छ,’  कार्कीले भने।

प्रतिनिधिसभाको निर्वाचन २०७४ साल मंसिर १० र २१ मा भएको थियो। संविधानतः प्रतिनिधिसभाको म्याद पाँच वर्षको हुन्छ। प्रतिनिधिसभा पाँच वर्ष पुग्नै लाग्दा आगामी मंसिर ४ गतेका लागि नयाँ निर्वाचन घोषणा गरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटा पनि प्रतिनिधिसभाको म्याद नयाँ सदस्यका लागि मनोनयनसम्म रहने पक्षमा छन्। ‘प्रतिनिधिसभा आउँदो निर्वाचनको मनोनयनसम्म रहन्छ। हामी त्यही नियमअनुसार अघि बढौँ,’ सभामुख सापकोटाको भनाइ छ।

संविधानविद् डा. विपिन अधिकारी त सरकारले संसद् विघटन र निर्वाचन मिति एकैपटक घोषणा गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। तर आज सरकारले चुनावको मितिमात्रै घोषणा गर्‍यो। निर्वाचन मिति तोक्नेबित्तिकै सरकार कामचलाउ भएको छ। अधिकारीका अनुसार देश निर्वाचनमय भएपछि संसद्ले कानुन निर्माण गर्नै सक्दैन।

अर्का संविधानविद् डा. भीमार्जुन आचार्य भने सरकारले प्रतिनिधिसभाको मिति तोकेपछि चालु प्रतिनिधिसभा आफैँ भंग हुने तर्क गर्छन्। उनले निर्वाचन मिति घोषणा गरेपछि संसद्‌ विघटन गरिराख्नु नपर्ने जनाएका छन्। आचार्य भन्छन्, ‘निर्वाचन मिति घोषणा भएपछि संसद्‌ स्वतः भंग हुन्छ। फेरि विघटन गरिराख्नु पर्दैन।’

प्रतिक्रिया