विद्यालय कर्मचारीलाई परिषद्‌को निर्देशन- चाबी लिएर काठमाडौं आउनुहोस्


काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्‌ले देशभरका कर्मचारीहरूलाई चाबी लिएरै काठमाडौं आइ आन्दोलनमा सरिक हुन कडा निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी हुन २४ घण्टे अल्टिमेटम दिएका छन् । ‘विद्यार्थी भर्ना, नतिजा प्रकाशन र परीक्षा जस्ता कार्यमा खटिएको खबरले हाम्रो आन्दोलनको गम्भीरता कमजोर पार्न खोजिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक हडतालको यो घडीमा हामी सबैले एउटै मोर्चामा उभिनै पर्छ ।’

परिषद्ले सातै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमितिहरूलाई स्पष्ट रूपमा पत्राचार गर्दै आन्दोलनमा एकजुटता देखाउन निर्देशन दिएको छ ।

सरकार भने विद्यालय तहका परीक्षा संचालनका लागि अन्य विकल्प खोज्दैछ । चैत ११ बाट परीक्षा सुरुआत गर्ने योजनामा निजामती कर्मचारी परिचालन गर्नेसम्मको तयारीमा सरकार जुटेको छ ।

शिक्षा ऐनको कार्यान्वयन, सेवा शर्तको स्पष्टता, र शिक्षक–कर्मचारीहरूको अधिकार सुनिश्चित गर्ने माग लिएर आन्दोलनरत समूहले अब आफूहरूलाई विमुख गर्न नदिने अडान लिएका छन् । परिषद्को पछिल्लो चेतावनीले आन्दोलन अझ व्यापक बन्ने संकेत गरेको छ ।

प्रतिक्रिया