

शर्मा एण्ड कम्पनीको लापरबाही, जोखिममा शिक्षा लिँदै महेन्द्र माविका ९५० विद्यार्थी

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धस्थित महेन्द्र बौद्ध माविको भवनको पुनर्निर्माण समयमै नहुँदा विद्यार्थीहरुले सास्ती ब्यहोर्न परेको छ ।
२०७२ सालको भुइँचालोले क्षतिग्रस्त बनाएको विद्यालयको भवन पुर्ननिर्माण वा रेक्टोफिटिङको जिम्मेवारी लिएको शर्मा एण्ड कम्पनीले अर्कै कम्पनीलाई जिम्मा लगाउँदै आफू पन्छिएको छ ।
आगामी साउन २३ गतेसम्म निर्माण सम्पन्न गर्ने म्याद भए पनि विद्यालय जस्तो संवेदनशील क्षेत्रमा शर्मा एण्ड कम्पनीले जिम्मेवारीबाट पन्छिँदै अर्को कम्पनीलाई सब–कन्ट्राक्ट दिएको छ ।
२०७८ पुस मसान्तसम्म सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने जनाएको निर्माणकम्पनीले बिभिन्न बहानामा काममा ढिलासुस्ती गर्दै आएको छ । ठेक्का हात पारेपछि न्यू–टेक्निकल भन्ने कम्पनीलाई सब-कन्ट्रयाक्ट दिएर शर्मा एण्ड कम्पनीले आफू जिम्मेवारीबाट पन्छिने प्रयास गरेको छ ।
‘ठेक्का लिने बेलामा चाहिँ जसरी पनि लिने, अनि काम गर्नेबेलामा चाहिँ अर्कैलाई जिम्मा दिने कम्पनीलाई सरकारले कारबाही गर्नुपर्छ,’ एक अभिभावक आक्रोश पोख्छन् । ‘२ करोड ९५ लाखमा ठेक्का लिएको कम्पनीले काम आफूले नगरी अर्कैलाई जिम्मा दिएर समयमै काम सम्पन्न नगरी काम गर्ने अवधि र रकम बढाउने प्रपञ्च रचेको छ, विद्यालय जस्तो संवेदनशील क्षेत्रमा यस्तो गर्नुहुँदैन सम्बन्धित निकायले त्यस्ता कम्पनीलाई कारबाही गर्नुपर्छ,’ उनले थपे ।
लगातारको वर्षा र विद्यालयको चौरमा निर्माणसामाग्री लथालिंग छाडिदिएको र पानीका खाल्डाखुल्डी रहेकाले साना विद्यार्थी साह्रै ठूलो समस्यामा परेका छन् । त्यसैले विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीलाई अहिले मर्मत कार्य गरिँदै रहेको भवनमा कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र खकुरेलले जनाए । ‘विद्यार्थीको किताबकापी भिज्ने र विद्यार्थीलाई टिनले काट्नसक्ने डरका कारण यस्तै अवस्थामा भए पनि कक्षा सञ्चालन गर्नुपरेको छ’, प्रधानाध्यापक खकुरेलले भने ।
शैक्षिक सत्रको सुरु हुनुभन्दा अगाडि पनि निर्माण सम्पन्न नभएपछि विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापकलगायत शिक्षा पुनःनिर्माण प्राधिकरणमा डेलेगिशन समेत गएका थिए । तर, पनि निर्माण कम्पनीले काममा कुनै तीब्रता नदिई ढिलासुस्ती गरिरहेको छ । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धरम लामाले यस्तो अलपत्र पारेर काम छाड्नुभन्दा बरु यतिकै छाडिदिए आफैंले सबै काम सकाउने बताए । उनले भने, ‘यस्तो अलपत्र पारेर छाड्नुभन्दा बरु आफैं बनाउन हुन्थ्यो, जसरी पनि आप्mनै स्कूल हो, जे–जस्तो स्रोतबाट भए पनि आफैं बनाउँथ्यौं ।’
सो निर्माणको ढिलासुस्तीबारे वडाध्यक्ष भुवन लामासँग प्रतिक्रिया लिँदा उनले निर्माण कम्पनीकै लापरबाहीले यस्तो भएको बताए । उनले भने, ‘म भर्खरै आएको छु, अब जतिसक्दो छिटो निर्माण कम्पनीलाई ताकेता गरेर बनाउन लगाउँछु, विद्यालयका बालबालिकाले पढेको देख्दा मन दुःखेर आउँछ ।’
लामाले विद्यालयमा निर्माण कम्पनीको लापरवाहीका बारेमा महानगरको कार्यपालिका बैठकमा कुरा उठाउँदै नगर प्रमुखलाई निरीक्षणको निम्तो समेत दिएका छन् ।
२०१२ सालमा स्थापित यस विद्यालय विगतमा निकै राम्रो भौतिक र शैक्षिक पूर्वाधार भएको विद्यालयका रुपम परिचित सो विद्यालय ठेकेदार कम्पनीले समयमा नै भवन निर्माण र मर्मतको काम सम्पन्न नगरिदिँदा विद्यार्थी र शिक्षकहरुले सास्ती ब्यहोर्नु परेको छ भने अभिभावकले आफ्ना बच्चाहरुलाई विद्यालय पठाउन डर लाग्न थालेको बताउँछन् । अहिलेको अवस्थामा विद्यालयमा करिब ९ सय ५० विद्यार्थी रहेको पनि खकुरेलले बताए ।

