नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : सभापति देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

देउवाले नेपालमा राम्रो शिक्षा नभएको गुनासो गर्दै अभिभावकहरूले आफ्ना सन्तानलाई विदेश पढ्न पठाउने गरेकोमा चिन्ता व्यक्त गरे। उनले नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। “नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसाबले होला, कतिपय आमाबुबाले छोराछोरी विदेश पढ्न पठाउँछन्,” उनले भने, “त्यसकारण नेपालमै राम्रो एजुकेसन दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउन सक्यौँ भने हाम्रो देशका विद्यार्थी विदेश जानबाट रोकिन्छन्।”

सभापति देउवाले नेपालको सुन्दर हावापानीका कारण विदेशी विद्यार्थीसमेत नेपाल पढ्न आउने सम्भावना रहेको औंल्याए। “हाम्रो देश सुन्दर छ, हावापानी सबैले (मन पराउँछन्)। विदेशी पनि नेपालमा विद्यार्थी आउन सक्छन्। त्यसको लागि नेपाल शिक्षाको हब बन्न सक्छ,” उनले थपे, “त्यस्तो किसिमको शिक्षा नेपालमा हामीले दिन सक्यौँ भने, त्यस्तो एजुकेसन दिन सक्यो भने नेपालमा विदेशी विद्यार्थी नेपाल आउन सक्छन्। नेपाल नै शिक्षाको हब बन्न सक्छ।”

उनले अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। देउवाले शिक्षा नेपालको लागि महत्वपूर्ण रहेको बताउँदै नेपालमा विदेशी विद्यार्थी आकर्षित हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया