विद्यालयअगाडि भएको राजावादीको प्रदर्शनले पठनपाठन प्रभावित, प्रशासनमा गुनासो


काठमाडौं- काठमाडौंको सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयको पठनपाठन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण प्रभावित भएको छ। विद्यालय प्रशासनले आन्दोलन स्थल स्थानान्तरण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा औपचारिक निवेदन पेस गरेको छ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाद्वारा मंगलबार पठाइएको पत्रमा जेठ १५ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा सिफल चउरमा चर्को आवाजमा नाराबाजी, जुलुस र साउन्ड सिस्टमसहितका गतिविधि भइरहेको जनाइएको छ।

विद्यालय अगाडि भइरहेका ती गतिविधिले पढाइमा बाधा पुगेको उल्लेख गर्दै विद्यालय शान्तिक्षेत्र भएको स्मरण गराइएको छ। “यस विद्यालयमा विभिन्न पृष्ठभूमिबाट आएका समावेशी विद्यार्थी अध्ययनरत छन्, त्यसैले अवस्था अझ संवेदनशील बन्ने खतरा रहेको छ,” निवेदनमा उल्लेख गरिएको छ।

विद्यालय प्रशासनले आन्दोलनका कारण उत्पन्न सुरक्षा चुनौतीप्रति पनि चिन्ता व्यक्त गर्दै तुरुन्तै स्थान परिवर्तन गरि शान्तिपूर्वक पठनपाठनको वातावरण सुनिश्चित गर्न प्रशासनसँग अनुरोध गरेको छ। यस विषयमा गृह मन्त्रालय र काठमाडौं महानगरपालिका शिक्षा विभागलाई पनि बोधार्थ पठाइएको विद्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया