सबै जनतालाई विद्युत् सेवा पुर्‍याउन अझै दुई वर्ष लाग्‍ने


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएकी छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताइन्।

उनले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत् खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको बताइन्।

उनले सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको जानकारी दिइन्।

उनले भनिन्, ‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ। मैले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु। देशभरका झन्डै ५२ लाख ग्राहक मध्ये करिव २६ लाख ग्राहकले यो सुविधा पाएका छन्।

उनले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब ७०० देखि १००० मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिँदै जाने बताइन्।

यसरी विद्युत थपिँदा आगामी २ वर्षका सुक्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उनले बताइन्।

 

प्रतिक्रिया