दलहरूले विदेशमा रहेका नेपालीले पनि भोट हाल्न मिल्ने गरी किन कानुन बनाउँदैनन् ?


काठमाडौँ- वर्तमान कानुनअनुसार विदेशमा रहेका नेपालीलाई उनीहरू रहेकै भूमिबाट मतदान गर्न दिन असम्भव छ। विदेशी भूमिबाट उनीहरूले मतदाता नामावलीमा नामसमेत दर्ता गराउन पाउँदैनन्। निर्वाचन आयोग आफैँले पनि यसाे भनिरहेकाे छ।

यहाँ सत्तारुढ दलका नेताहरू विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने लबिङ गरिरहँदा आयाेगले कानुन अध्ययन गर्न सुझाएको छ। यद्यपि उसले कानुन परिवर्तन गर्न तदारुकता देखाउने सङ्केत भने गरेकाे छ।

२०७४ चैत्रमा सर्वोच्चका न्यायधीशहरू पुरुषोत्तम भण्डारी र सपना प्रधान मल्लको संयुक्त इजलासले विदेशमा रहेका नेपालीलाई विदेशमै रहेर मतदानको अधिकार सुनिश्चित गर्न ६ बुँदे निर्देशनात्मक आदेश दिएको थियो। तर त्यस आदेशमा टेकेर कुनै काम भएको छैन।

विदेशमा रहेका नेपालीकाे मताधिकार सुनिश्चित गर्न कहाँ कति नेपाली छन् भनेर खाेज्न जरुरी हुन्छ। यसकालागि नेपाली कूटनीति नियोगलाई उपयोग गर्न सकिने अवस्था छ। तर सरकारले कुनै चासाे देखाएकाे छैन। न त आयोगले नै सरकारलाई यसबारे कुनै निर्देशन दिएकाे छ।

मंगलबार नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगका पदाधिकारीसँग भेटघाट गरेर विदेशमा रहेका नेपालीको मत सुरक्षित गरिनु पर्ने कुरा उठाए। एकदिन अघि उनीहरुले प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा राखेका थिए।

थापा र शर्माकाे दाैडधुपले तत्काल फल दिने सम्भावना भने छैन। अहिलेकै कानुनबमोजिम वा तत्काल कानुन परिवर्तन गर्दा पनि अगामी कत्तिक/मंसिरमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाइहाल्ने अवस्था नरहेका आयाेगका कर्मचारीहरू बताउँछन्।

नेपालको संविधान, २०७२ को धारा ८४ को उपधारा ५ का अनुसार १८ वर्ष पूरा भएका प्रत्येक नेपालीसँग संघीय कानुनबमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार छ। संविधानले विदेशमा रहेका नेपालीको हकमा खासै वा छुट्टै कुनै सम्बोधन गरेको छैन।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया हाल विदेशी भूमिमा रहेकाहरूले त्यहीबाट नेता चुन्न सक्ने अवस्था नरहेकाे प्रष्ट पारे। वर्तमान संविधान र कानुनले नै त्यो कार्यलाई रोकेको उनले स्पष्ट पार्दै उनले भने, ‘विदेशमा रहेका नेपाली नागरिक नै भएपनि नामावली दर्ता, उम्मेदवारी वा मतदानको अधिकार प्राप्त अहिले नै हुन सक्दैन।’

यदी सरकारले वा दलले चाहेर काुनुनी प्रक्रिया पुर्‍याए पनि ६/७ महिनापछि हुन लागेकाे निर्वाचनमा थापा र शर्माकाे लक्ष्य सफल हुन सक्दैन।

नेता थापाले हालका लागि केही मुलुकमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने बताउँछन्। याे विकल्पमा आयोग र सरकार दुवै सकारात्मक भएर लागि परे विदेशमा बस्ने नेपालीले आउँदाे निर्वाचनमै मत खसाल्न पाउने महामन्त्री थापाकाे विश्वास छ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको नोट चाहिने वा चल्ने तर उनीहरूलाई मताधिकारबाट बाहिर राख्न नमिल्ने जिकिर गरेका छन्। यो व्यवस्था तुरुन्तै सच्याउन आवश्यक रहेको उनकाे तर्क छ।

प्रतिक्रिया