

जम्मू-कश्मीरमा मुठभेड हुँदा एक सैनिक शहीद, लस्कर-ए-तोयबा सम्बद्ध चार जना पक्राउ

काठमाडौं – पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि जम्मू-कश्मीरमा सुरक्षा बल र आतङ्ककारीबीच पछिल्लो २४ घण्टामा लगातार तेस्रो मुठभेड जारी छ । उधमपुरको डूडू बसन्तगढ़ क्षेत्रमा सुरक्षाबलले केही आतङ्ककारीलाई घेराबन्दीमा लिएको छ । आतङ्ककारीहरूको पहिचान हालसम्म खुल्न सकेको छैन ।
यस मुठभेडमा भारतीय सेनाका एक हवलदार झन्टु अली शेख शहीद भएका छन् । ह्वाइट नाइट कोर्प्सले सामाजिक सञ्जाल ‘एक्स’मार्फत शेखलाई श्रद्धाञ्जली दिँदै लेखेको छ, “मुठभेडको क्रममा भएका गोली हानाहानमा गम्भीर घाइते भएका उनी चिकित्सा उपचारको क्रममा शहीद भए ।” सुरक्षाबलले मुठभेडको कार्यवाही अझै जारी रहेको जनाएको छ ।
यता, बाँदीपुरा प्रहरीले लस्कर-ए-तोयबा आतङ्कवादी समूहसँग सम्बन्धित चार जना ओभर ग्राउन्ड वर्कर पक्राउ गरेको छ । प्रहरीले प्राप्त सूचनाका आधारमा उनीहरू प्रहरी र बाहिरी प्रदेशका नागरिकमाथि हमला गर्ने योजनामा रहेको बताएको छ ।
बाँदीपुरा प्रहरीले विभिन्न स्थानमा तलाशी अभियान सञ्चालन गर्दै नाका चेकिङका क्रममा मोहम्मद रफिक खांडे र मुख्तार अहमद डारलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट दुई वटा चिनियाँ ह्यान्ड ग्रेनेड, एक वटा ७.६२ एमएम म्यागजिन र ३० राउन्ड गोली बरामद गरिएको छ ।
त्यसैगरी, बाँदीपुरा प्रहरीले एफ-कम्पनी ३औं बटालियन सीआरपीएफ र १३ आरआर अजास क्याम्पसँगको संयुक्त अपरेसनमा सदुनारा अजासमा नाकाबन्दी गर्दै रायिस अहमद डार र मोहम्मद शफी डारलाई पक्राउ गरेको छ । उनीहरूबाट पनि ह्यान्ड ग्रेनेड, म्यागजिन र गोलीहरू बरामद गरिएको छ ।
सुरक्षाबलले हाल मुलुकभर सुरक्षा सतर्कता बढाएका छन् र सम्भावित आक्रमणहरू रोक्नका लागि व्यापक अभियान जारी राखिएको जनाएको छ।

