

आन्तरिक हवाई उडान बन्द नहुने

काठमाडौँ- बुधबारदेखि अनिश्चितकालीन बन्द हुने भनिएको आन्तरिक उडानहरु यथावत् हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायुसेवा सञ्चालकहरुले आन्दोलन फिर्ता लिएका हुन्।
सोसँगै आफ्ना सबै उडान नियमित हुने यती एयरलाइन्सले जनाएको छ। त्यस्तै बुद्ध एयरले पनि बिहान ११ बजेदेखि उडान नियमित हुने सूचना जारी गरेको छ।
मंगलबार वायुसेवा सञ्चालक संघले पत्रकार सम्मेलन गरेर बुधबारदेखि उडान नगर्ने घोषणा गरेको थियो। त्यसलगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी आफ्नो निर्णयको बचाउ गरेको थियो।
दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको. हो। गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन्।
प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका थिए।
असार ५ गते प्रेस विज्ञप्तिमार्फत प्राधिकरणले हवाइ जहाज सञ्चालक कम्पनीले असार १३ देखि तोकिएको आधार विमानस्थलमा रात बसेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने जानकारी गराएको थियो।
यस्तै असार ७ अर्थात् आजैबाट हेलिकप्टर कम्पनीलाई आधार विमानस्थलमा राति राखेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने प्राधिकरणले निर्णय गरेको थियो।

